काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमित स्रोतसाधनका बाबजुद जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा बिहीबार मतदातासँगको भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले जनताका अपेक्षा धेरै भए पनि उपलब्ध स्रोत र बजेटको सीमाभित्र रहेर ती आवश्यकता सम्बोधन गर्न सरकार निरन्तर प्रयासरत रहेको बताए।

‘बजेटका सीमा छन्, रकम थोरै छ तर जनताका अपेक्षा धेरै छन्। जुन बस्तीमा पुगे पनि खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन र खेलमैदानका माग आउने गरेका छन्,’ उनले भने, ‘सरकारले आफ्नो क्षमताअनुसार ती माग सम्बोधन गर्न सक्दो प्रयास गरिरहेको छ।’

वाग्लेले तनहुँको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै बजेट विनियोजनमा सकेसम्म न्यायोचित वितरणको प्रयास गरिएको बताए।

तनहुँका जनताले आफूलाई दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएको स्मरण गर्दै उनले जिल्लावासीले आफूलाई दिएको विश्वास र योगदान कहिल्यै नबिर्सिने बताए।

दुम्सीका स्थानीयवासीले उठाएको खानेपानी र तटबन्धनको समस्याबारे सम्बन्धित मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत अर्थमन्त्री वाग्लेले व्यक्त गरे।

भेटघाटका क्रममा स्थानीयवासीले दुम्सीका करिब ५०० घरधुरी खानेपानीको समस्याबाट प्रभावित रहेको जानकारी अर्थमन्त्री वाग्लेलाई गराएका थिए।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com