काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा जनआस्थाको कार्यालयमा प्रहरीले छापा मारेर सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ।
काउन्सिलका प्रवक्ता दीपक खनालले विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई बुधबार राति पक्राउ गरिएको, उनको निजी निवासमा खानतलासी गरिएको तथा बिहीबार बिहान जनआस्थाको कार्यालयमा प्रहरी टोली प्रवेश गरी कम्प्युटरलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति आपत्ति जनाएका हुन्।
‘किशोर श्रेष्ठलाई बुधबार राति पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी भएको र आज बिहान उक्त जनआस्थाको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले समाचार सामग्रीप्रति कुनै गुनासो वा आपत्ति भए त्यसका लागि प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने स्थापित व्यवस्था रहेको स्मरण गराएको छ। प्राप्त उजुरीमाथि काउन्सिलले आवश्यक छानबिन गर्ने र त्यसपछि मात्र प्रचलित प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढ्ने व्यवस्था रहेको काउन्सिलको भनाइ छ।
तर श्रेष्ठको हकमा उक्त प्रक्रियाको पालना नगरी समाचार प्रकाशनकै विषयलाई लिएर पक्राउ गरिएको तथा उनको घर र कार्यालयमा समेत खानतलासी गरी सञ्चार सामग्री नियन्त्रणमा लिइएको काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिलले आफ्नो अधिकार क्षेत्रबारे सरकार र सम्बन्धित निकायलाई समेत सचेत गराएको छ। नागरिकको सूचनाको हक सुनिश्चित गर्न स्वतन्त्र प्रेसको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै काउन्सिलले प्रेसको मर्यादा र स्वतन्त्रता कायम राख्नु सबैको साझा दायित्व भएको जनाएको छ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया