काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका घेराबन्दी, आरोप र कानुनी प्रक्रियाबाट आफू विचलित नहुने बताएका छन्।

पाँच महिनाको विदेश बसाइपछि बिहीबार स्वदेश फर्किएका देउवाले चुनदेवीस्थित निवासमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो पाँच दशक लामो राजनीतिक यात्रामा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरे।

आफूविरुद्ध भइरहेका गतिविधिप्रति संकेत गर्दै देउवाले आफू अनुकूल नहुँदा तत्कालीन राजा ज्ञानेन्द्रले समेत केही गर्न नसकेको भन्दै अहिलेका चुनौतीबाट आफू नडराउने बताए।

‘आफू अनुकूल नहुँदा राजा ज्ञानेन्द्रले त मलाई केही गर्न सकेनन्, अरूले सक्लान् यहाँ ? लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन सक्दैन,’ देउवाले भने।

आफूविरुद्ध परेका विभिन्न उजुरी तथा छानबिनको प्रसंग उल्लेख गर्दै देउवाले अदालत र कानुनी प्रक्रियासँग आफू कहिल्यै नडराउने स्पष्ट पारे।

‘अदालतमा १० पटक, २० पटकसम्म छानबिन भयो तर केही भेटिएन। अहिलेसम्म ५० वर्ष काम गरेको छु, एक रुपैयाँ कतै तलमाथि भएको छैन,’ उनले भने, ‘त्यसैले जतिपटक छानबिन भए पनि मलाई कुनै डर छैन।’

देउवाले नेपालमा स्थापित गणतन्त्र कुनै व्यक्तिको चाहनामा नभई जनताको निर्णयबाट आएको बताए। संविधानसभाबाट बनेको संविधान र गणतान्त्रिक व्यवस्था जनताको अधिकार भएको उल्लेख गर्दै उनले त्यसलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरे।

‘नेपालका जनता नै यो देशका असली मालिक हुन्, मालिकले जे भन्छ त्यही हुन्छ,’ देउवाले भने, ‘अदालत र जनताले सबै सत्य बुझेका छन्। मविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिनेछ।’

स्वास्थ्योपचारपछि बिहीबार स्वदेश फर्किएका देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै चुनदेवीस्थित निवास पुगेका थिए। त्यहाँ ठूलो संख्यामा उपस्थित कांग्रेस नेता तथा कार्यकर्ताले उनको स्वागत गरेका थिए।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com