काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
श्रेष्ठलाई प्रहरीले बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दर्ता भएको र सोही जाहेरीका आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्।
गत साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित समाचार सामग्री प्रकाशित भएको थियो।
उक्त सामग्रीमा आफ्नो नाम जोडिएको भन्दै एक युवतीले प्रहरीमा जाहेरी दिएपछि श्रेष्ठविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
अदालतबाट हिरासतमा राख्ने अनुमति पाएसँगै प्रहरीले श्रेष्ठमाथि लागेको आरोपबारे थप अनुसन्धान अघि बढाउने भएको छ।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया