काठमाडौं । धवलशमशेर राणासँग पार्टी गठनका विषयमा सहमति जुट्न नसकेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफ्नै नेतृत्वमा छुट्टै राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्।
राणा र प्रसाईँले यसअघि संयुक्त रूपमा नयाँ पार्टी गठन गर्ने तयारी गरे पनि अन्ततः उनीहरूबीच कुरा नमिलेपछि अलग–अलग पार्टी खोल्ने भएका हुन्। राणाले शुक्रबार निर्वाचन आयोगमा ‘जय नेपाल’ नामक दल दर्ता गर्ने तयारी गरेका छन्।
यता प्रसाईँले पनि सामाजिक सञ्जालमार्फत आफ्नै नेतृत्वमा नयाँ पार्टी छिट्टै घोषणा गर्ने बताएका छन्। उनले समर्थक तथा शुभेच्छुकलाई केही समय धैर्य गर्न आग्रह गर्दै नयाँ दल सबै जातजाति र धर्मका नेपालीको साझा पार्टी हुने दाबी गरेका छन्।
प्रसाईँले प्रस्तावित पार्टीको मुख्य राजनीतिक एजेन्डा ‘वैदिक सनातनी हिन्दु अधिराज्य’ हुने बताएका छन्। उनका अनुसार पार्टी पीडित, शोषित, उत्पीडित तथा अधिकारबाट वञ्चित नागरिकको हक, अधिकार र न्यायका लागि केन्द्रित हुनेछ।
गरिब, भूमिहीन, सुकुम्बासी तथा लघुवित्त, सहकारी, बैंक र मिटरब्याजका कारण समस्यामा परेका नागरिकका मुद्दा कुनै पनि राजनीतिक दलले प्रभावकारी रूपमा सम्बोधन गर्न नसकेको प्रसाईँको आरोप छ।
उनले आफूहरूले यिनै नागरिकका समस्या बोकेर नयाँ राजनीतिक शक्ति निर्माण गर्न लागेको बताएका छन्। प्रस्तावित पार्टीको औपचारिक घोषणा र संरचनाबारे भने उनले विस्तृत जानकारी दिएका छैनन्।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया