काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अभिव्यक्तिप्रति जवाफ फर्काएका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा आफूले उठाएको प्रश्नको जवाफमा आईजीपी कार्कीले ‘पाषाणयुगीन सोच भएका शासक’ भन्दै टिप्पणी गरेपछि सांसद सुनारले सामाजिक सञ्जालमार्फत त्यसको प्रतिवाद गरेका हुन्।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले आईजीपी कार्कीमाथि भ्रष्टाचारसम्बन्धी गम्भीर आरोप लागेको भन्दै तत्काल निलम्बन गरेर छानबिन गर्नुपर्ने धारणा राखेका थिए। त्यसको जवाफमा कार्कीले आफ्नो मर्यादाको ख्याल नगरी प्रमाणबिनै आरोप लगाइएको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिएका थिए।

कार्कीको प्रतिक्रियापछि सुनारले बैठक बहिष्कार गरेर बाहिरिएका थिए। उनको उक्त कदमप्रति बैठकमा सहभागी अन्य दलका सांसद तथा रास्वपाकै सांसद गोविन्द पन्थीलगायतले आलोचना गरेका थिए।

त्यसपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सुनारले गम्भीर आरोप लागेको व्यक्तिले त्यसको जवाफ दिनुपर्नेमा प्रवचन दिएको टिप्पणी गरे।

‘म राष्ट्रसेवक प्रहरी सिपाही र दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव छु। तर गरिबका छोराछोरी म्यादी, सिपाही, हवलदार भएका छन्। उनीहरूका जुत्ता, मोजा, कट्टु र रासन खाएको अर्बौंको गम्भीर र ठूलो मुद्दा परेको छ,’ उनले लेखेका छन्, ‘मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने होइन।’

सुनारले राज्यमा एक हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको दाबी गर्दै भ्रष्टाचार, घोटाला र अनियमितताका अनेकौँ घटना रहेको बताएका छन्।

राज्यको आर्थिक हिसाब–किताबमाथि छलफल गर्ने सार्वजनिक लेखा समितिमा आफूहरू रहेको उल्लेख गर्दै उनले जनताको हितमा आफूहरूले कडा प्रश्न उठाइरहने बताए।

‘हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ। हामीले तितो बोल्दा भोका–नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने धेरै तितो बोल्न बाँकी छ,’ उनले भनेका छन्।

सुनारले आफूले उठाएको विषय बर्दी र फुली देखाएर धम्क्याउँदै टुंगिने विषय नभएको चेतावनीसमेत दिएका छन्। भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाउन जोखिम मोल्नुपरे पनि आफूहरू पछि नहट्ने उनको भनाइ छ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com