काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सभामुख डोलप्रसाद अर्याललाई भेट्न सिंहदरबार पुगेका छन्।
बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले म्यादी प्रहरी तथा नेपाल प्रहरीका लागि जुत्ता, मोजा, पोसाकलगायत सामग्री खरिदमा अनियमितता भएको आरोप लगाउँदै गृहसचिव राजकुमार श्रेष्ठ र आईजीपी कार्कीमाथि प्रश्न उठाएका थिए।
सुनारले खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै त्यसबारे तत्काल छानबिन गर्नुपर्ने माग गरेका थिए। उनले आईजीपी कार्कीमाथि समेत प्रश्न उठिसकेको भन्दै छानबिन निष्पक्ष बनाउन उनलाई जिम्मेवारीबाट अलग गर्नुपर्ने धारणा राखेका थिए।
समितिको बैठकमा सुनार र आईजीपी कार्कीबीच सवाल–जवाफसमेत भएको थियो। त्यसक्रममा कार्कीले आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए।
उक्त घटनाप्रति गृहमन्त्री सुधन गुरुङले पनि असन्तुष्टि जनाएका छन्। शुक्रबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गुरुङले आरोप वा उजुरीकै आधारमा कसैको चरित्र हत्या गर्न नमिल्ने बताएका हुन्।
गृहमन्त्री गुरुङले सार्वजनिक लेखा समितिमा प्रहरी प्रमुखलाई प्रस्तुत गरिएको शैलीप्रति गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको भन्दै आरोपको आधारमा कसैलाई दोषी ठहर गर्ने काम उचित नहुने धारणा राखेका छन्।
आईजीपी कार्कीले भने आफूविरुद्ध समितिमा भएको व्यवहारबारे सभामुख अर्याललाई जानकारी गराउन र आफ्नो धारणा राख्न सिंहदरबार पुगेर भेटवार्ता गरेका हुन्।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया