काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि लागेको आरोपबारे अनुसन्धान पूरा नहुँदै पक्षमा फैसला सुनाउने काम नगर्न गृहमन्त्री सुदन गुरुङलाई चेतावनी दिएका छन्।
गृहमन्त्री गुरुङले प्रमाणित नहुँदै कसैलाई भ्रष्टाचारी भन्न नमिल्ने बताएका बेला सुनारले समितिमा उजुरी परेकाले निष्पक्ष छानबिन आवश्यक रहेको बताएका हुन्।
सुनारले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आरोपितलाई काखी च्यापेर केही नभएजसरी अनुसन्धानमा रहेका व्यक्ति र मुद्दाबारे सिंहदरबारभित्र न्यायाधीश बनेर फैसला गर्दै हिँड्ने होइन।’
उनले भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई बर्दी लगाएर संसदीय समितिमा प्रवचन दिने छुट नभएको टिप्पणी गर्दै आवश्यक परे आफू भ्रष्टाचारविरुद्ध ‘जिन्दगी दाउमा राख्न’ समेत तयार रहेको बताएका छन्।
सुनारले प्रहरी तथा सशस्त्र प्रहरीविरुद्ध समितिमा परेका उजुरीमाथि निष्पक्ष छानबिन हुनुपर्ने र आफूहरूले कसैमाथि कपोकल्पित आरोप नलगाएको दाबीसमेत गरेका छन्।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया