काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस अचानक गुडेर पार्किङमा राखिएको विद्युतीय माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

शनिबार बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकछेउमा रोकिराखिएको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो।

ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०–४० मिटर तल भिरमा खसेका थिए। दुर्घटनामा पाँच जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो।

अस्पताल पुर्‍याएलगत्तै दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।

दुर्घटनामा घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ छन्।

तीनै जना घाइतेको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com