काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको सभापति र केन्द्रीय कार्यसमितिको वैधानिकताबारे कुनै भ्रम वा अन्योल नरहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले विधिसम्मत रूपमा सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतबाट समेत मान्यता प्राप्त भइसकेकाले वैधानिकताको विषयमा थप विवाद गरिरहन आवश्यक नरहेको बताएका हुन्।

उनले सर्वोच्च अदालतको फैसला सबै पक्षले स्वीकार गर्नुपर्नेमा जोड दिए। अदालतले कांग्रेसको केन्द्रीय कार्यसमितिलाई बदर नगरेको र गगनकुमार थापा नै सभापति रहेको विषय स्पष्ट भइसकेको उनको भनाइ थियो।

शर्माले संस्थापनइतर समूहलाई अदालतको निर्णयलाई सम्मान गर्दै अनावश्यक अन्योल सिर्जना नगर्न आग्रह गरे।

‘अदालतको फैसला सबैले मान्नुपर्छ। अदालतले केन्द्रीय समिति बदर गरेको छैन। सभापति गगन थापा नै हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ,’ शर्माले भने।

कांग्रेस विभाजन हुने आशंकालाई अस्वीकार गर्दै उनले पार्टीभित्र विधिको सर्वोच्चता कायम हुनुपर्ने बताए। व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा पार्टीको विधान र संस्थागत निर्णयलाई प्राथमिकता दिनुपर्ने उनको धारणा थियो।

राजनीतिमा निर्णयको वैधानिकता निर्धारण गर्ने अधिकार सम्बन्धित संवैधानिक निकायलाई मात्र हुने उल्लेख गर्दै शर्माले फुटसलको उदाहरण दिए। उनका अनुसार खेलमा खेलाडी वा दर्शकले नभई रेफ्रीले मात्र पहेँलो वा रातो कार्ड देखाउन पाएजस्तै राजनीतिमा पनि आधिकारिक निर्णय गर्ने अधिकार निर्वाचन आयोग र सर्वोच्च अदालतजस्ता सम्बन्धित निकायलाई हुन्छ।

उनले कांग्रेसभित्र देखिएको विवादलाई विधि र संस्थागत प्रक्रियाबाट समाधान गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com