काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्। पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापनका क्षेत्रमा लगानी गर्न उनले प्रवासी नेपालीलाई आग्रह गरेका हुन्।

चीनको ग्वाङझाउमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया–प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले लगानीको वातावरण निर्माण तथा स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

‘प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्,’ उनले भने, ‘पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस्।’

सरकारले नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गरिरहेको दाबी गर्दै वाग्लेले बजेटमार्फत २७ वटा नयाँ कानुनी व्यवस्था अघि बढाइएको बताए। सम्मानजनक रोजगारी सिर्जना गर्ने विषयलाई सरकारले विशेष प्राथमिकता दिएको उनको भनाइ छ।

उनका अनुसार सरकारले कर प्रणालीमा सुधार गर्दै राज्यको आन्तरिक आम्दानी बढाउने प्रयास गरिरहेको छ। बजेटमार्फत आर्थिक व्यवस्थापनमा सुधारको सुरुआत गरिएको उल्लेख गर्दै उनले त्यसको परिणाम क्रमशः देखिँदै जाने बताए।

‘पहिलो वर्ष सुधारको सुरुआत गरेका छौँ, दोस्रो वर्ष अझ व्यापक सुधार अघि बढ्नेछ। तेस्रो र चौथो वर्षमा त्यसको परिणाम देखिन थाल्नेछ र चौथो तथा पाँचौँ वर्षमा जनताले प्रतिफल पाउनेछन्,’ वाग्लेले भने।

सरकारले अघि सारेका विकास तथा सुधारका लक्ष्य पूरा गर्न आन्तरिक स्रोत महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले बाह्य लगानीको अवस्था चुनौतीपूर्ण रहेको बताए। यस्तो अवस्थामा प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र अनुभव नेपालका लागि महत्वपूर्ण हुने उनको भनाइ छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीको पुँजी र ज्ञान नेपाल भित्र्याउने नीतिलाई सरकारले प्राथमिकतामा राखेको बताए। उनका अनुसार धितोपत्र बाँडफाँड तथा निष्काशनसम्बन्धी नियमावली संशोधन गर्दै नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फन्डबाट जारी हुने सेयरमा एनआरएनको हिस्सा ८५ प्रतिशत पुर्‍याइएको छ।

‘आउनुहोस्, ढुक्क भएर लगानी गर्नुहोस्। आफ्नो ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्नुहोस्,’ उनले प्रवासी नेपालीलाई आग्रह गरे।

सरकारले लामो समयदेखि समस्याग्रस्त तथा रुग्ण अवस्थामा रहेका उद्योगहरूलाई पुनः सञ्चालन गर्ने तयारीसमेत गरिरहेको वाग्लेले बताए। त्यस्ता उद्योगलाई पुनर्ताजगीसहित सञ्चालनमा ल्याउन आवश्यक ज्ञान, सीप र अनुभव भएका प्रवासी नेपालीले समेत योगदान गर्न सक्ने उनले उल्लेख गरे।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com