काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको समग्र रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहससँगै सिर्जनात्मक आन्दोलन आवश्यक रहेको बताएका छन् ।
आइतबार ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको उद्घाटन गर्दै मन्त्री खनालले समाज र राष्ट्रलाई सही दिशामा अघि बढाउन प्राज्ञिक क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले नेपालको शिक्षा प्रणाली कस्तो हुनुपर्छ, शिक्षालाई समयअनुकूल र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर बौद्धिक बहस हुनुपर्नेमा जोड दिए । केवल तलब–भत्तालगायत सेवा–सुविधाका विषयमा केन्द्रित आन्दोलनले मुलुकको समग्र रूपान्तरणमा योगदान पुर्याउन नसक्ने उनको भनाइ थियो ।
‘मुलुकको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक छ,’ मन्त्री खनालले भने ।
कार्यक्रममा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले युवालाई रोजगारी र अवसरका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्दै स्वदेशमै बस्न सक्ने वातावरण निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामेश्वर बोहराले समयको आवश्यकता र बजारको मागअनुसार व्यावहारिक शिक्षालाई प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताए ।
प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार












प्रतिक्रिया