काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्मप्रति आस्थावान रहेको बताएका छन् । यद्यपि, मुलुकको धार्मिक पहिचानका विषयमा अन्तिम निर्णय जनताको चाहनाअनुसार हुनुपर्ने उनको धारणा छ ।

काठमाडौंको सुकेधारामा आयोजित कांग्रेस इतर समूहको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा सहभागी एक प्रतिनिधिले हिन्दु राष्ट्रका विषयमा आफ्नो धारणा माग्दै बुझाएको पत्रको जवाफ दिँदै देउवाले व्यक्तिगत आस्था र राज्यको धार्मिक नीतिलाई फरक रूपमा बुझ्नुपर्ने बताए ।

‘म व्यक्तिगत रूपमा हिन्दु हुँ । मैले हिन्दु परम्पराअनुसार व्रतबन्ध गरेको छु, विवाह गरेको छु । म पशुपति जान्छु र पूजाआजा गर्छु,’ देउवाले भने, ‘तर देशमा धर्मका विषयमा के हुने वा नहुने भन्ने कुरा जनताको निर्णयमा भर पर्छ । देशमा सबैका लागि धार्मिक स्वतन्त्रता हुनुपर्छ ।’

सम्बोधनका क्रममा देउवाले नेपालको न्यायालयप्रति आफूले उच्च सम्मान राख्दै आएको बताए । विगतमा आफू राजनीतिक कारणले जेल परेका बेला पनि न्यायालयले न्याय दिएको स्मरण गर्दै उनले न्यायपालिकाकै कारण आफू अहिलेको अवस्थामा आइपुगेको बताए ।

‘सर्वोच्च अदालतदेखि सबै न्यायालयले हिजोदेखि हामीलाई न्याय दिँदै आएका छन्,’ देउवाले भने, ‘पञ्चायतले थुन्दा होस् वा राजाले शाही आयोग बनाएर थुन्दा, न्यायालयले नै त्यसलाई खारेज गरेर मलाई बचाएको हो । न्यायालयकै कारण आज म यहाँसम्म आइपुगेको छु ।’

देउवाले गत पुसमा सम्पन्न विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूहरू न्यायका लागि अदालत पुगेको स्पष्ट पारे । विशेष महाधिवेशन सबैको सहमतिमा र कसैलाई अन्याय नहुने गरी गर्न आफूले आग्रह गरे पनि त्यसविपरीत जबर्जस्ती गरिएको र धेरै नेताकार्यकर्तालाई प्रक्रियाबाट बाहिर राखिएको उनको आरोप थियो ।

‘मैले पहिले नै भनेको थिएँ—विशेष महाधिवेशन सबैको सहमतिमा गरौँ, कसैलाई अन्याय नहोस् । तर जबर्जस्ती गरेर धेरै साथीहरूलाई बाहिर राखियो । त्यसैले हामी अदालत गएका हौँ,’ उनले भने ।

विशेष महाधिवेशनसम्बन्धी मुद्दामा अदालतको पूर्ण फैसला आउन बाँकी रहेको भन्दै देउवाले यस विषयमा थप टिप्पणी गर्न नचाहेको बताए । उनले अदालतको निर्णय आफूहरूले स्वीकार गर्ने स्पष्ट पारे ।

‘अदालतको पूर्ण निर्णय आउन बाँकी छ, त्यसैले म धेरै बोल्न चाहन्नँ । म अदालतको कुरा मान्छु,’ देउवाले भने ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com