काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई अध्ययन, संवाद र बहसका माध्यमबाट तथ्य तथा तर्कमा आधारित राजनीतिक दृष्टिकोण निर्माण गर्न आग्रह गरेकी छन् ।

मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले लोकतन्त्रमा आफूभन्दा फरक विचार राख्ने व्यक्तिको सम्मान गर्ने संस्कार आवश्यक रहेको बताइन् ।

उनका अनुसार लोकतन्त्रको वास्तविक शक्ति आफ्नो विचार मात्र स्थापित गर्न खोज्नुमा होइन, फरक मतलाई सम्मानपूर्वक सुन्ने र तथ्य तथा तर्कका आधारमा आफ्नो धारणा निर्माण गर्ने क्षमतामा निहित हुन्छ ।

प्रविधि र सामाजिक सञ्जालको विस्तारसँगै अहिलेको पुस्ता सूचनाको पहुँचमा निकै अगाडि भए पनि धेरै सूचना हुनु र सही ज्ञान हासिल गर्नु फरक विषय भएको उनले स्पष्ट पारिन् ।

‘सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्न सक्ने क्षमता आजको पुस्ताका लागि अत्यन्तै महत्त्वपूर्ण छ,’ भण्डारीले भनिन्, ‘राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन ।’

राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने प्रक्रियामा मात्र सीमित नहुने उनको भनाइ थियो । समाजका समस्या र आवश्यकतालाई बुझ्ने, जनताको आवाज सुन्ने तथा नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने निरन्तर प्रक्रियाका रूपमा युवाको राजनीतिक सहभागिता अघि बढाउनुपर्ने उनले बताइन् ।

मदन भण्डारीका विचारलाई वर्तमान समय र बदलिँदो सामाजिक–राजनीतिक परिवेशअनुसार अध्ययन तथा विश्लेषण गरेर आत्मसात गर्नुपर्नेमा समेत पूर्वराष्ट्रपति भण्डारीले जोड दिइन् ।

देशमा परिवर्तनको अपेक्षा उच्च रहेको र युवामा नयाँ सोच, ऊर्जा तथा क्षमता रहेको उल्लेख गर्दै उनले त्यसलाई सकारात्मक सामाजिक रूपान्तरणमा प्रयोग गर्नुपर्ने बताइन् ।

भण्डारीले युवाहरूलाई लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत र जिम्मेवार नागरिकका रूपमा अघि बढ्न आग्रह गरिन् ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com