काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापन इतर समूहको तीनदिने राष्ट्रिय भेलामा आफूविरुद्ध भएको आलोचनाप्रति असन्तुष्टि जनाएका छन् । उनले पछिल्लो तीन दिनमा आफ्नो राजनीतिक जीवनमै नभएको निन्दा खेप्नुपरेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले इतर समूहको भेलामा भएका छलफल र आफूविरुद्ध उठाइएका प्रश्नबारे सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट विस्तृत धारणा सार्वजनिक गर्ने बताए ।

‘चुनदेवी कांग्रेसका बारेमा पत्रकार साथीहरूले बाहिर नसोध्नुहोला, म भोलि सबैलाई सानेपा बोलाएर भन्नेछु । मेरो जीवनभर नभएको निन्दा यो तीन दिनमा भएको छ । कसले कति निन्दा गरेको छ, त्यो जीवनमा नभएको निन्दा यी तीन दिनमै आयो,’ थापाले भने ।

काठमाडौंमा सम्पन्न कांग्रेस इतर समूहको तीनदिने राष्ट्रिय भेलामा सहभागी अधिकांश नेताले पार्टी सभापति थापाको नेतृत्व र कार्यशैलीमाथि प्रश्न उठाउँदै आलोचना गरेका थिए ।

सभापति गगन थापाले भने राजनीतिमा सफलताको मूल्यांकन केवल पद र सत्ताबाट गर्न नहुने बताएका छन् । पार्टीलाई वास्तविक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न उच्च नैतिक बल, राजनीतिक निष्ठा र कार्यकर्ताको योगदानलाई सम्मान गर्ने संस्कार आवश्यक रहेको उनको भनाइ थियो ।

‘सफलताको मानक कसले कति सत्ता पायो भन्ने मात्र होइन,’ थापाले भने ।

लेखक धर्म गौतमको राजनीतिक जीवनलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले पदमा पुग्नु मात्र राजनीतिक सफलताको आधार नभएको बताए ।

उनले भने, ‘धर्म गौतमको राजनीतिक जीवन यस अर्थमा सफल छ कि उहाँसँग उच्च नैतिक बल छ, जुन पदमा बस्नेहरूसँग नहुन सक्छ ।’

इतर समूहको भेलामा पार्टी नेतृत्व र आगामी राजनीतिक दिशाबारे उठेका प्रश्नलाई लक्षित गर्दै थापाले आफूले सबै विषयमा उपयुक्त समयमा स्पष्ट धारणा सार्वजनिक गर्ने संकेत गरेका छन् ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com