काठमाडौं । भारतको बिहारस्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भागदौड हुँदा कम्तीमा सात महिला भक्तजनको मृत्यु भएको छ। घटनामा केही भक्तजन घाइते भएका छन्।
जिल्ला प्रशासनका अनुसार अशोकधाम रेलवे हाल्ट नजिक विद्युत्को पोल ढलेपछि त्यसबाट विद्युत् प्रवाह भइरहेको तार खसेको हल्ला फैलिएको थियो। उक्त हल्लाका कारण भक्तजनबीच त्रास फैलिँदा भागदौड मच्चिएको हो।
लखीसरायका जिल्ला मजिस्ट्रेट शैलेन्द्र कुमारका अनुसार मृतक सबै महिला हुन्। साउन महिनाको तेस्रो सोमबार भएकाले बिहानैदेखि अशोकधाम मन्दिरमा ठूलो संख्यामा भक्तजनको भीड लागेको थियो। भक्तजनको लाम अशोकधाम हाल्टसम्म पुगेको थियो, जहाँ दुईवटा रेलसमेत रोकिएका थिए।
अचानक पुरुषतर्फको लामनजिक विद्युत्को पोल ढलेपछि त्यसमा रहेको केबल तार भुइँमा खसेको थियो। तारमा करेन्ट प्रवाह भइरहेको भन्ने हल्ला फैलिएपछि महिलातर्फको लाममा एक्कासि चाप बढेको र केही भक्तजन एकअर्कामाथि खसेका थिए।
घटना अत्यन्तै छोटो समयमा भएको जिल्ला मजिस्ट्रेट कुमारले बताएका छन्। उनका अनुसार करिब दुई मिनेटभित्रै भागदौडको अवस्था सिर्जना भएको थियो। प्रहरी तथा प्रशासनका टोली भने बिहान ३ बजेदेखि नै घटनास्थलमा परिचालित थिए।
लखीसरायका एसडीपीओ शिवम कुमारले सात जनाको मृत्यु भएको पुष्टि गर्दै प्रारम्भिक रूपमा पोल ढलेपछि करेन्ट लागेको सूचना आए पनि घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको बताए।
बिहारका मन्त्री विजय कुमार सिन्हाले घटनाप्रति दुःख व्यक्त गर्दै विद्युत् प्रवाह भइरहेको तार खसेको हल्लाका कारण भागदौड भएको बताएका छन्। उनले गलत सूचना तथा हल्ला फैलाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गरिने जानकारी दिए।
घटनापछि घाइतेहरूलाई तत्काल लखीसराय सदर अस्पताल तथा आसपासका स्वास्थ्य केन्द्रमा पुर्याइएको छ। घटनास्थलमा प्रहरी, जिल्ला प्रशासन तथा आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ।
यसैबीच, बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। मुख्यमन्त्री सम्राट चौधरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सरकार पीडित परिवारको साथमा रहेको बताएका छन्।
केन्द्रीय मन्त्री राजीव रञ्जन ‘लालन’ सिंहले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। साउन महिनाको सोमबार शिव मन्दिरमा जल चढाउन ठूलो संख्यामा भक्तजन पुग्ने भएकाले अशोकधाममा पनि बिहानैदेखि अत्यधिक भीड लागेको थियो।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया