काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिको विषयलाई लिएर प्रतिनिधि सभामा विपक्षी दलहरूको विरोध सोमबार पनि जारी रह्यो।

सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।

गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसको विरोध गर्दै आएका छन्।

विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहले उक्त अभिव्यक्तिबारे सदनमा स्पष्ट पार्नुपर्ने तथा आपत्तिजनक अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।

तर, हालसम्म प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्तिबारे सदनमा कुनै स्पष्टीकरण दिएका छैनन्। त्यस्तै, सभामुख अर्यालले पनि उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छैनन्।

सोही विषयलाई लिएर विपक्षी सांसदहरूले बैठकमा नियमित रूपमा विरोध जनाउँदै आएका छन्। सोमबारको बैठकमा पनि उनीहरूले बैठक सुरु भएलगत्तै उठेर आफ्नो असहमति प्रकट गरेका हुन्।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com