काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमका दुई कर्मचारी ठूलो परिमाणमा विदेशी मुद्रा बोकेर मलेसिया जान लागेको अवस्थामा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६ बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन्। उनीहरूलाई आइतबार साँझ विमानस्थलबाट पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी विदेशी मुद्रा साथमा राखेर मलेसिया जान लागेका थिए। राष्ट्र बैंकको प्रचलित व्यवस्थाअनुसार यात्रुले तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा लिएर विदेश जान पाउँदैनन्।
चेकजाँचका क्रममा बज्राचार्यको साथबाट १२ हजार ३७२ मलेसियन रिंगेट र ४ हजार ३०० अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, पाण्डेको साथबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगेट फेला परेको छ।
तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको पाइएपछि दुवैलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया