काठमाडौं । सरकारले बालबालिकाको संरक्षण तथा बाल न्याय प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा पेस गरेको छ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले उक्त विधेयक सदनसमक्ष प्रस्तुत गरेकी हुन्।
विधेयक प्रस्तुत गर्दै मन्त्री बादीले बाल न्याय प्रणालीमा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राख्दै कानुनी विवादमा परेका बालबालिकाको संरक्षण प्रणालीलाई थप सुदृढ र संस्थागत गर्न संशोधन आवश्यक भएको बताइन्।
उनका अनुसार विद्यमान बालबालिका सम्बन्धी ऐन, २०७५ लाई समयानुकूल परिमार्जन गर्दै बालबालिकाको अधिकार, संरक्षण तथा न्यायमा पहुँचलाई थप प्रभावकारी बनाउन सरकारले संशोधन विधेयक अघि सारेको हो।
सरकारले बालबालिकासँग सम्बन्धित कानुनी तथा न्यायिक प्रक्रियालाई बालमैत्री बनाउँदै विवादमा परेका बालबालिकाको अधिकार र हित संरक्षण गर्ने व्यवस्था थप मजबुत बनाउन विधेयकमार्फत कानुनी आधार सुदृढ गर्न खोजेको जनाएको छ।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया