काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्षको पूर्ण कार्यकाल सञ्चालन गर्न दिनुपर्ने बताएका छन्। उनले आगामी आवधिक निर्वाचनसमेत यही सरकारले गराउनुपर्ने धारणा राखेका छन्।
कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै थापाले सरकारलाई बीचमै परिवर्तन गर्नेभन्दा निर्धारित कार्यकाल पूरा गर्न दिनु उपयुक्त हुने बताए।
कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहे पनि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने उनले स्पष्ट पारे। रास्वपालाई कांग्रेसको प्रतिद्वन्द्वीका रूपमा नभई राजनीतिक प्रतिस्पर्धीका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।
‘रास्वपा कांग्रेसको प्रतिद्वन्द्वी होइन, हामी राजनीतिक प्रतिस्पर्धी मात्रै हौँ,’ थापाले भने, ‘हामी प्रमुख प्रतिपक्षीको भूमिकामा छौँ, तर अरू दलको आन्तरिक विषयमा हस्तक्षेप गर्दैनौँ।’
सरकारको कार्यशैलीप्रति भने उनले गम्भीर प्रश्न उठाए। मुलुकमा शासकीय अराजकताको अवस्था देखिएको उल्लेख गर्दै थापाले सरकार संविधान र कानुनअनुसार चल्नुपर्ने बताए।
‘सरकार कानुनअनुसार चल्यो भने सहज रूपमा अगाडि बढ्छ। तर कानुनलाई आफूअनुकूल ढालेर चलाउन खोजियो भने सरकार खाडलमा जाने निश्चित छ,’ उनले चेतावनी दिए।
थापाले सरकारले जनताका समस्या समाधान गर्नुभन्दा ती समस्या कसरी लुकाउने भन्नेमा बढी ध्यान दिएको आरोपसमेत लगाए। सरकारको कार्यशैलीप्रति कांग्रेसले निरन्तर निगरानी र खबरदारी गरिरहने उनको भनाइ छ।
‘सरकार समस्या कसरी समाधान गर्नेभन्दा पनि त्यसलाई कसरी छोप्ने भन्ने दिशामा अघि बढिरहेको देखिन्छ,’ उनले भने, ‘हामी सरकारलाई निरन्तर सचेत गराइरहन्छौँ।’
सरकारप्रति नागरिकको विश्वास कायम रहनुपर्ने भए पनि अहिले जनतामा सरकारप्रतिको विश्वास कमजोर हुँदै गएको थापाले बताए।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया