काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विभिन्न समूहले आयोजना गर्ने गुटगत भेला र त्यस्ता भेलाबाट पारित प्रस्तावलाई पार्टीको आधिकारिक नीति तथा निर्णयका रूपमा मान्यता दिन नसकिने स्पष्ट पारेका छन्।
पार्टीको आधिकारिक नीति र दृष्टिकोण निर्माणका लागि विधानले नै निश्चित वैधानिक थलो र प्रक्रिया तय गरेको उल्लेख गर्दै थापाले तीबाहेकका कुनै पनि समूहगत भेलाबाट भएका निर्णय संस्थागत निर्णय बन्न नसक्ने बताए।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै सभापति थापाले कांग्रेसको आधिकारिक नीति महाधिवेशन, महासमिति बैठक र निर्वाचनका क्रममा जारी हुने घोषणापत्रबाट मात्र तय हुने स्पष्ट गरे।
‘आधिकारिक दृष्टिकोण निर्माण गर्ने निश्चित वैधानिक आधार छन्,’ थापाले भने, ‘महाधिवेशन, महासमिति र निर्वाचनको घोषणापत्रबाहेक अन्य कुनै पनि भेलाबाट भएका निर्णय पार्टीको नीति बन्न सक्दैनन् र ती आधिकारिक पनि हुँदैनन्।’
हालै डा. शशांक कोइरालाको संयोजकत्वमा सम्पन्न इतर समूहको राष्ट्रिय भेलातर्फ संकेत गर्दै थापाले त्यस्ता भेलाबाट आएका प्रस्तावलाई पार्टीले बेवास्ता नगर्ने बताए। उनले समूहगत भेलाबाट उठाइएका विषय सुन्ने र सम्मान गर्ने भए पनि त्यसलाई कांग्रेसको आधिकारिक दस्ताबेजका रूपमा स्वीकार गर्न नसकिने स्पष्ट पारे।
‘कुनै ठाउँमा भएको भेलाले प्रस्ताव पारित गर्यो भन्दैमा हामी त्यसलाई सुन्दैनौँ भन्ने होइन। हामी सुन्छौँ, सम्मान गर्छौँ, तर त्यसले पार्टीको आधिकारिक धारणा तय गर्दैन,’ थापाले भने।
उनको भनाइले पार्टीभित्र हुने समूहगत गतिविधि र संस्थागत निर्णयबीचको सीमालाई स्पष्ट रूपमा अलग गर्न खोजेको देखिन्छ।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया