काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले आफ्नै सांसदहरूको असन्तुष्टि सम्बोधन गर्न नसक्ने अवस्थामा सरकार पुग्नु जनताका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले संसद् बैठकबाट बाहिरिएको घटनातर्फ संकेत गर्दै सत्तापक्षकै सांसद सरकारप्रति असन्तुष्ट र आक्रोशित देखिनु विडम्बनापूर्ण भएको टिप्पणी गरे।
उनले व्यङ्ग्यात्मक शैलीमा प्रतिपक्षले भन्दा सत्तापक्षकै सांसदहरूले सरकारका कामकारबाहीमाथि प्रश्न उठाइरहेको बताए। यस्तो अवस्था आउँदा आफूहरूलाई प्रतिपक्षको भूमिका निर्वाह गर्नसमेत गाह्रो भएको भन्दै उनले ‘सत्तापक्षले प्रतिपक्षको जागिर नै खोसिदिएको’ टिप्पणी गरे।
राईले संसद्मा आक्रोश व्यक्त गर्नुभन्दा सत्तापक्षका सांसदहरूले आफ्नै प्रधानमन्त्री तथा मन्त्रीहरूसँग प्रभावकारी समन्वय गरी जनताका समस्या समाधान र सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिए।
गठबन्धन सरकार गठन भएको चार महिना बितिसक्दा पनि सरकारको कामले अपेक्षित गति लिन नसकेको उनको आरोप छ।
उनले विगतको राजनीतिक अस्थिरता र निरन्तरको खिचातानी अन्त्य गर्ने उद्देश्यसहित गठन भएको दुई तिहाइ नजिकको बलियो सरकारले अब जनअपेक्षाअनुसार परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए।
राईका अनुसार सरकारलाई संसद्मा बलियो समर्थन प्राप्त भए पनि त्यसको प्रतिफल जनताले अनुभूति गर्न नसके बलियो बहुमतको अर्थ रहँदैन। त्यसैले सत्तापक्षका सांसद र मन्त्रीहरूले आपसी समन्वय बढाएर सरकारको कार्यसम्पादन सुधार्नुपर्ने उनको भनाइ छ।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया