काठमाडौं । प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले बजारमा एलपी ग्यासको आपूर्ति उल्लेख्य रूपमा बढाउँदा पनि उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था आउनुको कारण सरकारले गम्भीर रूपमा खोज्नुपर्ने बताएका छन्।
सांसद पराजुलीले वैशाखको तुलनामा साउनमा बजारमा पठाइएको ग्यासको मात्रा निकै बढेको तथ्य प्रस्तुत गर्दै आपूर्ति पर्याप्त हुँदाहुँदै अभाव देखिनु गम्भीर अनुसन्धानको विषय भएको बताए।
उनका अनुसार वैशाखमा करिब २२ लाख सिलिन्डर एलपी ग्यास बजारमा पुगेकोमा साउनमा यो संख्या बढेर करिब ४० लाख सिलिन्डर पुगेको थियो।
‘वैशाखमा जम्माजम्मी २२ लाख सिलिन्डर बजारमा पुगेकोमा अहिले साउनमा ४० लाख सिलिन्डर बजारमा पुगेका छन्। तर पनि ग्यास अभाव भयो भन्ने कुरा भइरहेको छ,’ उनले भने।
ग्यासको आपूर्ति बढे पनि उपभोक्ताले लामो लाइन बस्नुपर्ने तथा सहज रूपमा ग्यास नपाउने अवस्था देखिनुका पछाडि वितरण प्रणालीमा समस्या छ कि अन्य कुनै कारणले कृत्रिम अभाव सिर्जना भएको हो भन्ने विषयमा सरकारले अध्ययन गर्नुपर्ने उनको भनाइ छ।
पराजुलीले बजारमा पुगेको ग्यासको वास्तविक वितरण, उपभोक्तासम्मको पहुँच तथा आपूर्ति व्यवस्थापनको अवस्थाबारे तथ्यमा आधारित अध्ययन गरी अभावको कारण पहिचान गर्न सरकारसँग माग गरेका छन्।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार













प्रतिक्रिया