काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा देखाउनुपर्ने विषयलाई नकारात्मक भाष्य बनाउन नहुने बताएकी छन् ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनलाई पत्रकारले ‘मल किन्न कृषकसँग लालपुर्जा किन मागिन्छ ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा मन्त्री चौधरीले कति मल चाहिन्छ भन्ने बुझ्न लालपुर्जा मागिएको सुनाइन् । ‘मल प्राविधिकले दिएको सुझावअनुसार हाल्ने हो,’ उनले भनिन, ‘उहाँहरुको जग्गा कति हो, कति जग्गामा कति मल हाल्ने हो भनेर प्राविधिक हिसाबले हेर्नुपर्छ ।’

बर्खाको समयमा विभिन्न कारणले आपूर्तिमा ढिलाइ हुने उनले सुनाइन् । पानी पर्दा भिज्ने समस्या हुने भएकाले ध्यानपूर्वक ल्याउनुपर्ने अवस्था रहेको र ढिलाइ हुनुको कारण यही रहेको उनको जिकिर थियो ।

जीटुजी गरेर, अरु तरिकाले पनि मल ल्याउने प्रक्रियामै रहेको उनले दाबी गरिन् । हालसम्म ६२ हजार मेट्रिक टन मल वितरणका लागि पठाइएको र ६४ हजार मेट्रिक टन भारतबाट आउने क्रममा बाटोमा रहेको मन्त्री चौधरीले बताइन् । चालु आर्थिक वर्षका लागि २ लाख ८ सय मेट्रिक टन मल भित्रने उनले जानकारी दिइन् ।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com