काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले कैलालीमा लागुऔषध दुर्व्यसन तथा कारोबार भयावह बन्दै गएको भन्दै तत्काल नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले कैलालीका खुला सीमा तथा जङ्गल क्षेत्रमा लागुऔषधको कारोबार र प्रयोग बढ्दै गएको भन्दै यसप्रति गृह मन्त्रालय गम्भीर बन्नुपर्ने बताए।
उनका अनुसार लागुऔषध दुर्व्यसनका कारण ठूलो संख्यामा युवाको जीवन प्रभावित भइरहेको छ। यसको असर व्यक्तिमा मात्र नभई परिवार र समग्र समाजमा समेत परेको उनले बताए।
लागुऔषधको प्रयोग बढेसँगै चोरी, डकैती, लुटपाट तथा आपसी झैझगडाजस्ता आपराधिक गतिविधिसमेत बढेको भन्दै उनले यसको नियन्त्रणमा राज्यको सक्रियता बढाउनुपर्नेमा जोड दिए।
सांसद खनालले कैलालीका विभिन्न जङ्गल क्षेत्रमा लागुऔषध प्रयोग गर्ने युवाको संख्या बढिरहेको र त्यसकै कारण युवाहरूबीच झैझगडासमेत हुने गरेको गुनासो आफूले पाएको बताए।
खुला सीमा तथा संवेदनशील क्षेत्रमा हुने लागुऔषधको ओसारपसार रोक्न सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
उनले सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै लागुऔषधको कारोबार, ओसारपसार र प्रयोग नियन्त्रणका लागि तत्काल ठोस कदम चाल्न सरकारसँग आग्रह गरे।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार













प्रतिक्रिया