काठमाडौं । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) सांसद कंगना रनौत र योगगुरु बाबा रामदेवबीच सामाजिक सञ्जालमा वाकयुद्ध चर्किएको छ।
कंगनाको विवादास्पद अभिव्यक्तिमाथि रामदेवले टिप्पणी गरेपछि उनले सामाजिक सञ्जालमार्फत कडा प्रतिवाद गरेकी हुन्।
विवादको सुरुवात कंगनाले केही युवा प्रदर्शनकारीलाई ‘जेनेरेसन गटर’ भनेपछि भएको थियो। पछि उनले आफ्नो टिप्पणी सबै युवालाई लक्षित नभएको भन्दै आफूलाई ‘कक्रोच’ भन्ने केही व्यक्तिप्रति मात्र लक्षित रहेको स्पष्टीकरण दिएकी थिइन्।
यही विषयमा रामदेवले कंगनाको विगत र युवावस्थालाई लिएर प्रश्न उठाएको समाचार सार्वजनिक भएपछि कंगनाले त्यसको स्क्रिनसट राख्दै जवाफ दिएकी हुन्।
कंगनाले लेखेकी छन्, ‘बाबाजी, मेरो जवानी वा बेडरुमको सपना नदेख्नुस्।’ उनले हल्ला र अफवाहका आधारमा आफूलाई लिएर धारणा बनाउन सकिने भए पनि आफ्नो चरित्रमाथि प्रश्न उठाउने अधिकार कसैलाई नभएको बताएकी छन्।
रामदेवलाई लक्षित गर्दै उनले ‘मलाई चरित्रको पाठ नपढाउनुस्’ भन्दै आफ्नो चरित्र रामदेवभन्दा राम्रो रहेको दाबीसमेत गरेकी छन्।
कंगनाको यो टिप्पणी रामदेव र पतञ्जलिसँग जोडिएको पुरानो विवादतर्फ पनि लक्षित देखिन्छ। सन् २०२४ मा पतञ्जलि आयुर्वेदका भ्रामक विज्ञापनसम्बन्धी मुद्दामा रामदेव र आचार्य बालकृष्णले सर्वोच्च अदालतसमक्ष बिना सर्त माफी मागेका थिए।
कंगना र रामदेवबीचको पछिल्लो विवादले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ।
प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया