काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्रीको मातहतमा नरहेको भन्दै आयोगका पदाधिकारी प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा उपस्थित हुन नहुने बताएका छन्।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियारको संवैधानिक मर्यादा कमजोर हुँदै गएको दाबी गरे। उनले आयोगले आफ्नो दायित्व प्रभावकारी रूपमा पूरा गर्न नसकेको आरोपसमेत लगाए।

‘अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन। त्यसैले कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियारका पदाधिकारी त्यहाँ धाउनु हुँदैन,’ उनले भने।

सिंहले संवैधानिक निकायहरूमा पूर्वकर्मचारीको प्रभाव बढेको भन्दै त्यस्ता संस्थालाई ‘पूर्वकर्मचारीहरूको क्लब’ बन्न दिन नहुने बताए।

उनले न्यायालय र अख्तियारसमेत बिचौलिया उत्पादन गर्ने संस्थाजस्तो देखिन थालेको टिप्पणी गरे।

‘ठूला मान्छेलाई उन्मुक्ति, सानालाई मात्रै दुःख?’

सिंहले भ्रष्टाचारमा नेता तथा उच्च तहका व्यक्तिहरू संलग्न हुँदा अख्तियारले प्रभावकारी कारबाही नगरेको आरोप लगाए।

निजगढ विमानस्थलको जग्गा अधिग्रहणमा समेत ठूलो अनियमितता भएको दाबी गर्दै उनले ७–८ अर्ब रुपैयाँको योजनामा जग्गा अधिग्रहणमै २३ अर्ब रुपैयाँ खर्च गरिएको विषय उठाए।

‘जहाँ–जहाँ नेता र उच्च तहका व्यक्तिहरू संलग्न हुन्छन्, त्यहाँ अख्तियारले केही नगर्ने, साना मान्छेलाई मात्रै दुःख दिने? कानुनको नजरमा सबै बराबर हुनुपर्छ,’ सिंहले भने।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com