काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष धवल शम्शेर राणाले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग हुने दाबी गरेका छन्।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै राणाले स्थानीय निर्वाचनलाई पार्टीले प्रमुख राजनीतिक लक्ष्यका रूपमा अघि बढाएको बताए। उनले राप्रपाभित्र जारी विवादप्रति व्यङ्ग्य गर्दै आफ्नो पार्टीको प्रतिस्पर्धा राप्रपासँग नरहेको स्पष्ट पारे।
राप्रपाभित्र सांसद निष्कासनदेखि आन्तरिक विवादसम्मका विषयप्रति कटाक्ष गर्दै राणाले भने, ‘हामीलाई राप्रपाको मतलब नै छैन। लडिरहोस्, झगडिरहोस्, जे–जे गर्छ गरिरहुन्। हामी उनीहरूको पछि लाग्ने होइनौँ।’
उनले अबको करिब डेढ महिनाभित्र पार्टीका नेता तथा कार्यकर्तालाई आ–आफ्नो गृहजिल्लामा परिचालन गरिने जानकारी दिए। संगठन विस्तारका लागि आफू पनि विभिन्न जिल्लामा पुग्ने बताउँदै उनले स्थानीय तह निर्वाचनमा राम्रो परिणाम हासिल गर्न नसके पार्टीको आगामी यात्रा चुनौतीपूर्ण बन्ने चेतावनी दिए।
राणाले पुराना राजनीतिक दलका कार्यकर्तामै निर्भर नभई जनतामाझ लोकप्रिय, सक्षम र जिल्लाको नेतृत्व गर्न सक्ने नयाँ पुस्तालाई अघि बढाउने पार्टीको नीति रहेको बताए।
‘जिल्लामा गएर राप्रपाकै पुराना मान्छे खोज्नुपर्दैन। जनताले पत्याएको, उत्कृष्ट र जिल्ला हाँक्न सक्ने नयाँ नेतृत्वलाई पूर्ण अधिकार दिएर हामी पठाउँछौँ,’ उनले भने।
विशेषगरी काठमाडौँमा पार्टीको विचारप्रति जनताको आकर्षण बढिरहेको दाबी गर्दै राणाले राजधानीका नेता तथा कार्यकर्तालाई संगठन विस्तारमा विशेष ध्यान दिन निर्देशन दिए। स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर बलियो संगठन निर्माणमा जुट्न उनले नेता–कार्यकर्तालाई आग्रह गरे।
प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया