चितवन । चितवनको भरतपुरलाई नेपालको प्रमुख स्वास्थ्य केन्द्र अर्थात् ‘मेडिकल हब’का रूपमा चिनिन्छ। यहाँ रहेको भरतपुर अस्पताल देशका संघीय अस्पतालमध्ये सेवा प्रवाहका हिसाबले उत्कृष्ट मानिन्छ। तर, यही अस्पतालसम्म पुग्ने सडकको अवस्था भने यसको पहिचानसँग मेल खाने खालको छैन।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पतालले न्यूनतम सेवा प्रवाह मापदण्डमा ८९ अङ्क प्राप्त गर्दै देशका १४ संघीय अस्पतालमध्ये पहिलो स्थान हासिल गरेको थियो। गत असारमा सार्वजनिक गरिएको उक्त मूल्याङ्कनले अस्पतालको सेवा गुणस्तरलाई उत्कृष्ट देखाए पनि अस्पतालसम्म पुग्ने सडकले भने दैनिक सेवाग्राहीलाई हैरान बनाइरहेको छ।
भरतपुर अस्पतालमा दैनिक तीन हजारसम्म बिरामी पुग्छन्। तर, अस्पताल जाने मुख्य सडक खाल्डाखुल्डी, धुलो र उबडखाबडले भरिएको छ। सामान्य अवस्थामा समेत असहज रहेको सडक बिरामी बोकेका एम्बुलेन्स तथा अन्य सवारीसाधनका लागि झनै पीडादायी बन्ने गरेको छ।
खैरहनी नगरपालिका–५ बाट बिरामी लिएर अस्पताल आएकी गीता चौधरीले सडकको दुरावस्थाका कारण बिरामीलाई अस्पताल पुर्याउनै कठिन हुने बताइन्। विशेषगरी शल्यक्रिया गरेका बिरामीलाई उबडखाबड सडकमा यात्रा गराउँदा थप पीडा हुने उनको अनुभव छ।
अटो चालक मनबहादुर बस्नेतका अनुसार सडकको अवस्था यति खराब छ कि यात्राका क्रममा बिरामीहरू पीडाले कराउने गर्छन्। सडकका खाल्डाखुल्डी छल्दै सवारी चलाउन चालकलाई समेत निकै कठिन हुने उनले बताए।
सडकको खराब अवस्थाबाट विद्यार्थी र स्थानीयसमेत उत्तिकै प्रभावित छन्। लोकसेवा तयारी गरिरहेका धीरजकुमार पटेलले सडक समतल नहुँदा साइकल चलाउँदा शरीर नै थर्किने गरेको बताए। सडकको अवस्थाका कारण साइकलका टायर तथा रिङमा समेत क्षति पुग्ने गरेको उनको गुनासो छ।
लामो समयदेखि सडक भत्काएर निर्माण अलपत्र पारिएको भन्दै स्थानीयले ठेकेदारको कार्यशैलीप्रति समेत असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार सडकमा कहिलेकाहीँ मात्रै कामदार देखिन्छन् र निर्माणले अपेक्षित गति लिन सकेको छैन।
तर, भरतपुर महानगरपालिकाका सिभिल इन्जिनियर रबिन धितालले निर्माणमा ढिलाइ हुनुमा केही प्राविधिक तथा आर्थिक कारण रहेको बताएका छन्। उनका अनुसार भूमिगत रूपमा नाली निर्माण गर्नुपर्ने भएकाले काम प्राविधिक रूपमा जटिल भएको हो। निर्माण सामग्रीको मूल्यवृद्धिले समेत केही समय काम प्रभावित भएको उनले बताए।
धितालका अनुसार नाली निर्माणको ८० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको छ। अब फुटपाथ निर्माणलाई तीव्रता दिइने र त्यसपछि सडक कालोपत्रेको काम अघि बढाउने तयारी छ।
करिब दुई करोड रुपैयाँ लागतमा सप्तगण्डकी कँडेल कन्स्ट्रक्सनले सडक निर्माणको जिम्मा लिएको छ। निर्माण कार्यलाई गति दिएर आगामी दुई महिनाभित्र फुटपाथ निर्माण सम्पन्न गर्ने र असोजसम्म सडक कालोपत्रे गर्ने लक्ष्य रहेको इन्जिनियर धितालले जानकारी दिए।
जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल, विद्यालय तथा विभिन्न सरकारी कार्यालयमा आवतजावत गर्ने मुख्य सडक भएकाले यसको दुरावस्थाबाट दैनिक हजारौँ मानिस प्रभावित भइरहेका छन्।
अस्पतालको मूल प्रवेशद्वार नजिकैको केही मिटर सडकको अवस्था नै यति दयनीय हुँदा बिरामी, चिकित्सक, नर्स, कर्मचारी, सेवाग्राही र स्थानीयले दैनिक सास्ती खेप्नुपरेको छ।
सडकमा उड्ने धुलोबाट जोगिन यात्रुहरू मुख छोपेर हिँड्न बाध्य छन्। अर्कोतर्फ, उचित ढल निकासको व्यवस्था नहुँदा सामान्य वर्षामै सडकमा पानी जम्ने गरेको छ। पानी र हिलोका कारण पैदल यात्रुदेखि सवारी चालकसम्मलाई आवतजावतमा समस्या हुने गरेको छ।
देशकै उत्कृष्ट संघीय अस्पतालमध्ये एकमा पुग्ने सडकको यस्तो अवस्था हुनु भरतपुरको स्वास्थ्य पूर्वाधार र समग्र सहरी व्यवस्थापनबीचको विरोधाभासजस्तै देखिएको छ।
तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया