काठमाडौं । डा. धवलशमशेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टी ले संवैधानिक राजसंस्था र हिन्दूराज्य पुनर्स्थापनाको पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठकले जनमत निर्माण तथा सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यसहित चरणबद्ध रूपमा हस्ताक्षर संकलन अभियान अघि बढाउने निर्णय गरेको हो।
पार्टी अध्यक्ष राणाले संविधान संशोधनका लागि सरकारद्वारा सुझाव संकलन भइरहेको सन्दर्भमा राजसंस्था र हिन्दूराज्यको पक्षमा सकारात्मक जनदबाब निर्माण गर्न अभियान सुरु गर्न लागिएको बताए।
बैठकले समान विचारधारा भएका राजनीतिक दल, संगठन, समूह तथा अभियानलाई एकताबद्ध गर्न वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जय नेपाल पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक नागरिकहरूलाई सार्वजनिक रूपमा आवेदन दिन आह्वान गर्ने निर्णय पनि गरिएको पार्टीले जनाएको छ।
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया