काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधार तथा प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयक (एकीकृत) मस्यौदाका विषयमा सरोकारवालासँग छलफल गरेको छ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आयोगमा आयोजित छलफलमा निर्वाचन प्रणालीमा गर्नुपर्ने समसामयिक सुधार, विगतका निर्वाचनमा देखिएका समस्या तथा प्रस्तावित विधेयकमा समेटिएका नयाँ व्यवस्थाबारे प्रस्तुतीकरणसहित विस्तृत छलफल भएको हो।
छलफलमा गृहमन्त्री गुरुङले विगतका निर्वाचनमा देखिएका कमजोरी र समस्या समाधान हुने गरी कानुनी व्यवस्था गर्न आयोगलाई आग्रह गरे। विशेषगरी विदेशमा रहेका नेपाली तथा आफ्नो स्थायी निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था विधेयकमै समेट्नुपर्ने उनको भनाइ थियो।
त्यसका लागि आवश्यक प्राविधिक तयारीसमेत समयमै अघि बढाउन उनले आयोगलाई आग्रह गरे।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतालाई थप सुदृढ गर्दै मतदाताको अपेक्षाअनुसार निर्वाचन प्रणाली र प्रक्रियामा सुधार गर्न आयोग सक्रिय रहेको बताए।
उनले निर्वाचन सुधारका लागि आवश्यक कानुनी, संस्थागत तथा प्राविधिक तयारी सुरु भइसकेको जानकारी दिँदै त्यसका लागि आवश्यक स्रोतसाधन र जनशक्ति सरकारले उपलब्ध गराउने विश्वास व्यक्त गरे।
छलफलमा निर्वाचन आयुक्तहरू डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले निर्वाचन सुधारका विभिन्न पक्षबारे आफ्ना धारणा राखेका थिए।
आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठ तथा आयोगका निमित्त सचिव नारायणप्रसाद भट्टराईलगायत अधिकारीहरूको पनि सहभागिता थियो।
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया