काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापाको नेतृत्वशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टी सञ्चालनको तौरतरिकामाथि प्रश्न उठाएका छन्।

वि.सं. २०८२ को राजनीतिक घटनाक्रमलाई आधार बनाउँदै खड्काले थापाको नेतृत्वलाई कांग्रेसका पूर्वसभापति बीपी कोइरालाको नेतृत्वसँग तुलना गरेका छन्। उनले बीपीले पार्टीलाई एकताबद्ध बनाएर निर्वाचनमा सफलता हासिल गरेको उल्लेख गर्दै वर्तमान नेतृत्व भने पार्टीलाई बलियो बनाउने दिशामा असफल भएको टिप्पणी गरेका हुन्।

खड्काका अनुसार वि.सं. २०१४ सालमा विशेष महाधिवेशनबाट सभापति बनेपछि बीपी कोइरालाले पार्टीभित्रका सबै पक्षलाई समेटेर संगठनलाई एकताबद्ध बनाएका थिए। त्यसकै परिणामस्वरूप २०१५ सालको निर्वाचनमा कांग्रेसले १०९ मध्ये ७४ सिट जित्दै दुईतिहाइ नजिकको सरकार गठन गरेको उनको भनाइ छ।

तर, वर्तमान अवस्थामा भने पार्टी नेतृत्वले त्यसको ठीक विपरीत बाटो समातेको खड्काले आरोप लगाए। वि.सं. २०८२ पुसमा विशेष महाधिवेशनमार्फत थापा सभापति बनेपछि कांग्रेसले निर्वाचनमा लज्जास्पद परिणाम बेहोर्नुपरेको उनको दाबी छ।

निर्वाचन परिणामको जिम्मेवारी लिँदै सभापतिले राजीनामा दिएको भनिए पनि पछि स्पष्ट कारणबिना नै राजीनामा फिर्ता लिइएको भन्दै खड्काले नेतृत्वको निर्णय क्षमतामाथि समेत प्रश्न उठाएका छन्।

उनले नेतृत्वले आफू पदमा रहने तर असफलताको जिम्मेवारी भने अरूमाथि थोपर्ने प्रवृत्ति देखाएको आरोप लगाए। खड्काले मीठो भाषण वा लोकप्रिय अभिव्यक्ति मात्र नेतृत्वको मापदण्ड हुन नसक्ने भन्दै संगठन निर्माणका लागि कार्यकर्ताको विश्वास र जनताको समर्थन आवश्यक पर्ने बताए।

‘सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन,’ खड्काले भने, ‘केही सञ्चारमाध्यममा आफ्नो समर्थन जुटाउँदैमा र फरक विचार राख्नेमाथि प्रहार गर्दैमा संगठन निर्माण हुँदैन।’

कांग्रेसजस्तो पुरानो र ठूलो राजनीतिक दल सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमको प्रचारबाट नभई संगठनको बल, कार्यकर्ताको विश्वास र जनताको मतबाट बलियो हुने उनको भनाइ छ।

खड्काले पार्टीलाई एकताबद्ध बनाउन सबै पक्षलाई समेटेर अघि बढ्ने नेतृत्व आवश्यक रहेको बताए। उनले निवर्तमान सभापति शेरबहादुर देउवाको उदाहरण दिँदै फरक समूह र विचारलाई साथमा लिएर अघि बढ्ने क्षमता नेतृत्वका लागि महत्वपूर्ण हुने उल्लेख गरे।

महाधिवेशनको चर्चा मात्र गरेर पार्टीभित्र लोकतन्त्र बलियो नहुने भन्दै उनले महाधिवेशनको वास्तविक अर्थ संगठनभित्र सबै विचार र पक्षको सम्मान तथा सहभागिता सुनिश्चित गर्नु भएको बताए।

खड्काले सभापति थापासामु दुई विकल्प रहेको पनि बताएका छन्। पहिलो, आफूले सबै पक्षलाई समेटेर अघि बढ्न नसक्ने हो भने आफ्नो सीमितता स्वीकार गर्ने र दोस्रो, सबै समूहलाई साथमा लिएर कांग्रेसलाई एकताबद्ध तथा सुदृढ बनाउने।

‘कुर्सी प्राप्त गर्नु मात्र नेतृत्व होइन, इतिहासले दिएको जिम्मेवारी पूरा गर्नु नै वास्तविक नेतृत्व हो,’ खड्काको भनाइको सार छ।

प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com