काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बालिका गरिमा चौधरीको जघन्य हत्याले आफूलाई गहिरो रूपमा स्तब्ध बनाएको बताउँदै घटनामा संलग्न दोषीलाई कानुनअनुसार कडा कारबाही हुने प्रतिबद्धता जनाएकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री चौधरीले घटनाले नेपाली समाजमा बालिका तथा छोरीहरूको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको बताइन्।
उनले आफ्नै पारिवारिक प्रसंग उल्लेख गर्दै गरिमाको हत्यासम्बन्धी समाचारले आफूलाई भावनात्मक रूपमा विचलित बनाएको बताएकी छन्। मन्त्रालयबाट घर फर्किएपछि पाँच वर्षीया छोरीसँग मोबाइल हेर्दै गर्दा सामाजिक सञ्जालमा गरिमाको तस्बिर देखेको र छोरीले नै घटनाको क्रूरताबारे बताएको उनले उल्लेख गरेकी छन्।
‘पाँच वर्षको बच्चाले समेत यस्ता क्रूर घटनाबारे थाहा पाउने अवस्था आउनु हामीले कस्तो समाज निर्माण गरिरहेका छौँ भन्ने गम्भीर प्रश्न हो,’ उनले लेखेकी छन्।
सिमरामा रहेकी आफ्नी साथी राधा चौधरीमार्फत पीडित परिवारको अवस्थाबारे जानकारी पाएपछि आफूले तत्काल गृहमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेको मन्त्री चौधरीले बताइन्।
गृहमन्त्रीसँगको कुराकानीमा घटनामा संलग्न व्यक्ति पक्राउ परिसकेको, पीडित परिवारसँग समन्वय भइरहेको र घटनाको गम्भीरतापूर्वक अनुसन्धान अघि बढाइएको जानकारी पाएको उनले उल्लेख गरेकी छन्।
घटनापछि तत्काल अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएकोमा गृहमन्त्रीसहित सम्बन्धित सुरक्षा निकायलाई धन्यवाद दिँदै मन्त्री चौधरीले पीडित परिवारलाई न्याय दिलाउन आफ्नो तहबाट निरन्तर पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
‘म स्वयं थारू समुदायबाट आएको र जनप्रतिनिधिका रूपमा सरकारमा रहेकाले यो घटना मेरा लागि अझ संवेदनशील विषय हो,’ उनले भनेकी छन्, ‘गरिमाको परिवारले भोगिरहेको पीडा एउटा परिवारको मात्र होइन, समाज र राज्यकै लागि गम्भीर चेतावनी हो।’
घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिँदै उनले पीडित परिवारले न्याय पाउने विश्वाससमेत व्यक्त गरेकी छन्।
मन्त्री चौधरीले छोरीहरूले डर र त्रासबिना सुरक्षित भविष्यको सपना देख्न सक्ने वातावरण निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताएकी छन्। उनले दिवंगत बालिका गरिमा चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया