काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्वेच्छाचारी र अधिनायकवादी बन्दै फासीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी कुवेतको पाँचौँ अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले सरकार गठन भएलगत्तै गरिब, सुकुम्बासी, ट्रेड युनियन र कर्मचारीतन्त्रमाथि आक्रमण सुरु भएको दाबी गरे।

उनले जनताले कुनै पनि सरकारलाई पाँच वर्षसम्म मनपरी गर्ने अधिकार नदिएको बताए। सरकार संविधान र कानुनको सीमाभित्र रहेर सञ्चालन हुनुपर्ने उनको भनाइ छ।

ओलीले मुलुकमा संविधानको उल्लङ्घन र लोकतान्त्रिक व्यवस्थामाथि हस्तक्षेप भएको दाबी गर्दै देशलाई पुनः कानुनी शासन र लोकतान्त्रिक बाटोमा फर्काउन प्रतिगमनविरुद्ध संघर्ष आवश्यक भएको बताए।

गत वर्ष भदौ २३ र २४ गते भएको हिंसात्मक घटनाको प्रसंग निकाल्दै ओलीले त्यस क्रममा राज्यका महत्वपूर्ण संरचना, राजनीतिक दलका नेता–कार्यकर्ताका घर तथा सार्वजनिक सम्पत्तिमाथि आक्रमण र आगजनी भएको दाबी गरे।

उनले उक्त घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमाथि समेत नकारात्मक असर पारेको बताए।

‘विगतका कुनै पनि आन्दोलनमा यस्तो विध्वंस भएको थिएन,’ ओलीले भने, ‘सत्ता प्राप्तिका नाममा राज्यका तीनै अंग, दलका नेता तथा कार्यकर्ताका घर जलाइए र योगदान गरेका नेतामाथि आक्रमण गरियो।’

एमाले नेतृत्व परिवर्तनको चर्चाप्रति पनि ओलीले असन्तुष्टि जनाए। आफूलाई अध्यक्षबाट हटाउने चर्चा ‘बलेसीको पानीको फोकाजस्तै’ भएको टिप्पणी गर्दै उनले आफ्नो नेतृत्वको राजनीतिक र सांगठनिक यात्राबारे स्मरण गराए।

पार्टी निर्माणदेखि लामो समयसम्म जेल, भूमिगत जीवन तथा विभिन्न राजनीतिक चुनौती सामना गर्दै संगठनलाई यहाँसम्म ल्याएको भन्दै उनले आफू केवल निर्वाचनबाट निर्वाचित अध्यक्ष मात्र नभएको बताए।

पार्टीभित्र कसैले निराशा व्यक्त गर्दैमा एमाले कमजोर नहुने दाबी गर्दै ओलीले पार्टीका सांगठनिक संरचना र कार्यकर्ता यथावत् रहेको बताए।

‘एमालेका कमिटीहरू जस्ताका तस्तै छन्, कार्यकर्ता जहाँको तहीँ छन्। एमालेले पहिलेकै अवस्थामा फर्कने दरो सामर्थ्य राख्छ,’ उनले भने।

आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टी थप एकताबद्ध र सुदृढ भएर अघि बढ्ने दाबी पनि ओलीले गरे।

यसैबीच, पछिल्लो निर्वाचनका क्रममा सामाजिक सञ्जालमा फैलिएका भ्रामक सामग्रीका कारण विदेशमा रहेका नेपालीसमेत प्रभावित भएको उनले बताए। सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रम चिर्न तथा वास्तविक तथ्य प्रवाह गर्न प्रवासी नेपाली मञ्चलाई सक्रिय भूमिका खेल्न उनले आग्रह गरे।

प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com