काठमाडौं । नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ अघि बढेको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुक असामान्य राजनीतिक अवस्थाबाट गुज्रिरहेको दाबी गर्दै अधिनायकवादी प्रवृत्तिविरुद्ध सबै वामपन्थी शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
उनले ठूलो जनादेशसहित रास्वपा सरकारमा आए पनि पछिल्लो पाँच महिनाको गतिविधि हेर्दा सरकार अधिनायकवादी शैलीतर्फ अघि बढेको आरोप लगाए।
‘देश निकै असामान्य तरिकाले गुज्रिरहेको छ। धेरै ठूलो जनादेश प्राप्त गरेर रास्वपा सरकारमा आएको छ। उसको पाँच महिनाको कुरा हेर्दा निर्वाचित अधिनायकवादतर्फ अगाडि बढेको छ,’ ज्ञवालीले भने।
सरकारले राष्ट्रपति र संसद्को भूमिकालाई समेत बेवास्ता गरेको आरोप लगाउँदै ज्ञवालीले सरकार ‘बिनालगामको घोडा’जस्तो ढंगले अघि बढिरहेको टिप्पणी गरे।
‘राष्ट्रपतिको पनि मतलब छैन, संसद्को पनि मतलब छैन। बिनालगामको घोडाजस्तो अधिनायकवादतर्फ यो सरकार गएको छ,’ उनले भने।
आफूलाई प्रधानमन्त्री बनाउने दलकै निर्देशनसमेत सरकारले पालना नगरेको आरोप ज्ञवालीले लगाए। पछिल्लो राजनीतिक वातावरणमा सामाजिक रूपमा समेत ‘सेन्सरसिप’को अवस्था देखिन थालेको उनको दाबी छ।
प्रदीपकुमार ज्ञवालीले वर्तमान परिस्थितिमा अधिनायकवादी शक्तिविरुद्ध वामपन्थी शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको दोहोर्याए।
प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया