काठमाडौं। मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालको उत्तरी सीमा क्षेत्रलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई सचेत गराएका छन्।
सामाजिक सञ्जालमार्फत प्रसाईंले नेपाललाई तिब्बत मामिला वा शक्ति राष्ट्रहरूको प्रोक्सी द्वन्द्वको क्रिडास्थल बनाउन नहुने बताएका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको मुस्ताङ भ्रमणलाई समेत भू–राजनीतिक दृष्टिले हेर्नुपर्ने दाबी गरेका छन्।
प्रसाईंले लोकप्रिय नेपाली नेतृत्वको छवि प्रयोग गरेर शक्ति राष्ट्रहरूले हिमाली क्षेत्रमा आफ्नो रणनीतिक पहुँच र एजेन्डा अघि बढाउन खोजिरहेको आरोप लगाए। प्रधानमन्त्री शाहको लोकप्रियता पनि त्यस्तो भू–राजनीतिक खेलमा प्रयोग भइरहेको हुन सक्ने भन्दै उनले सरकारसँग प्रश्न गरेका छन्।
उनले सरकारको वर्तमान गतिविधि नरोकिए हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङ जुनसुकै बेला गुम्न सक्ने चेतावनी दिएका छन्। त्यसको जिम्मेवारी वर्तमान बालेन नेतृत्वको सरकारले लिनुपर्ने उनको दाबी छ।
प्रसाईंले नेपालको उत्तरी सीमा र हिमाली क्षेत्रसँग जोडिएका विभिन्न ऐतिहासिक तथा समसामयिक घटनाक्रम उल्लेख गर्दै पछिल्लो समय मुस्ताङमा अन्तर्राष्ट्रिय शक्तिहरूको चासो बढेको दाबी गरेका छन्।
उनले ‘प्याक्स सिलिका’, महत्वपूर्ण खनिज, मुस्ताङमा युरेनियम उत्खननसम्बन्धी चर्चा तथा अन्य रणनीतिक चासोलाई समेत यसै सन्दर्भमा जोड्दै सरकारलाई संवेदनशील हुन आग्रह गरेका छन्।
प्रसाईंले विगतमा मुस्ताङ क्षेत्रलाई प्रयोग गरेर तिब्बत लक्षित गतिविधि सञ्चालन भएको इतिहाससमेत स्मरण गराएका छन्। उनले अमेरिकी गुप्तचर संस्था सीआईएसँग जोडिएका खम्पा विद्रोहीसम्बन्धी गतिविधिलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
त्यस्तै, मुस्ताङका प्राचीन गुम्बाको संरक्षण तथा सांस्कृतिक सम्पदा प्रवर्द्धनमा अमेरिकी पक्षबाट देखाइएको चासोलाई पनि गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ।
प्रसाईंले सरकारलाई हिमाली क्षेत्रका गतिविधिलाई केवल विकास वा आन्तरिक भ्रमणको विषयका रूपमा नहेरी नेपालको असंलग्न परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र संवेदनशील भू–राजनीतिक अवस्थासँग जोडेर विश्लेषण गर्न आग्रह गरेका छन्।
यद्यपि, मनाङ र मुस्ताङ गुम्न सक्ने लगायत प्रसाईंले उठाएका दाबी तथा आशंकाहरू उनका राजनीतिक तथा सामाजिक सञ्जालमा व्यक्त विचार हुन्। उनले प्रस्तुत गरेका दाबी स्वतन्त्र रूपमा पुष्टि भएको विवरणका रूपमा लिन मिल्दैन।

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया