काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षामा राज्यको लगानी क्रमशः वृद्धि गर्दै कुल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत पुर्याउने बताएका छन्।
परामर्श–गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वव्यापी अभ्यासअनुसार शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशतसम्म लगानी गर्नुपर्ने भए पनि नेपालमा हाल ११ प्रतिशतभन्दा कम बजेट विनियोजन भइरहेको बताए।
पछिल्ला वर्षमा शिक्षाको बजेट बढ्दै गएको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा पनि शिक्षा क्षेत्रको बजेट थप वृद्धि हुने बताए।
‘बेस्ट केस सिनारियोमा सम्पूर्ण बजेटको २० प्रतिशत शिक्षामा छुट्याउनुपर्छ भन्ने ग्लोबल प्राक्टिस छ। हामी लगभग ११ प्रतिशतभन्दा पनि कम छौँ,’ उनले भने।
मन्त्री पोखरेलका अनुसार शिक्षाका लागि विनियोजित बजेटको ठूलो हिस्सा स्थानीय तहमा जाने भएकाले शिक्षा क्षेत्रको सुधार र गुणस्तर अभिवृद्धिमा स्थानीय सरकारको भूमिका र जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ।
उनले शिक्षामा छुट्याइएको कुल बजेटमध्ये करिब ७० प्रतिशत स्थानीय तहमा अनुदानका रूपमा जाने गरेको बताए। प्रदेशमा भने करिब २ देखि ३ प्रतिशत बजेट जाने र बाँकी रकम संघीय सरकारले विश्वविद्यालयलगायतका क्षेत्रमा खर्च गर्ने गरेको उनको भनाइ छ।
‘कुल बजेटको ७० प्रतिशत स्थानीय तहमा अनुदानका रूपमा जाँदै गर्दा अधिकारसँगै सबैभन्दा ठूलो जिम्मेवारी पनि स्थानीय तहमा छ,’ मन्त्री पोखरेलले भने।
ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकमा स्थानीय तहले थप्नुपर्ने
मन्त्री पोखरेलले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता तथा विद्यालय कर्मचारी सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउने अनुदानमा स्थानीय तहले आफ्नो स्रोतबाट थप रकम जोडेर पारिश्रमिक उपलब्ध गराउनुपर्ने बताएका छन्।
संघीय सरकारले उपलब्ध गराउने रकम पूर्ण तलब नभई स्थानीय तहलाई प्रदान गरिने सशर्त अनुदान भएको उनले स्पष्ट पारे। संघबाट प्राप्त अनुदानमा स्थानीय तहले आफ्नो स्रोत थपेर कर्मचारीलाई पारिश्रमिक दिने उद्देश्यअनुसार बजेट विनियोजन गरिएको उनको भनाइ छ।
‘पहिले १०, १२ र १५ हजारसम्म छुट्याइएको थियो। अहिले सबैको बढाएर १५ हजारदेखि २० हजारसम्म पुगेको छ,’ उनले भने, ‘यो तलबका रूपमा मात्र छुट्याइएको रकम होइन, स्थानीय तहले थप गरेर कर्मचारीलाई दिने उद्देश्यसहितको सशर्त अनुदान हो।’
मन्त्री पोखरेलले शिक्षा सुधारका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा पनि जोड दिए।
प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया