काठमाडौं। नेपालको प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहको संघर्ष, साहस र विद्रोही चेतनालाई अब रंगमञ्चमा प्रत्यक्ष अनुभूति गर्न पाइने भएको छ। गणेशमान सिंह फाउन्डेसनको आयोजनामा सर्वनामको प्रस्तुति तथा वरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना, नाट्यरूपान्तरण र निर्देशनमा ‘वीर गणेशमान’ नाटक मञ्चन हुँदैछ।
गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका त्यस्ता विरलै भेटिने पात्र हुन्, जसले सत्ता होइन, स्वतन्त्रता र लोकतन्त्रलाई आफ्नो राजनीतिक जीवनको केन्द्र बनाए। निरंकुशताविरुद्धको संघर्षमा जेल, निर्वासन र अनेक कठिनाइ भोगेका सिंह नेपालको प्रजातान्त्रिक आन्दोलनका एक निर्णायक योद्धाका रूपमा स्थापित छन्। उनको जीवन केवल राजनीतिक घटनाक्रमको शृङ्खला होइन, अडान, त्याग र विद्रोहको एउटा सशक्त इतिहास हो।
त्यही इतिहासलाई पुस्तकका पानाबाट निकालेर रंगमञ्चमा जीवन्त बनाउने प्रयास हो—‘वीर गणेशमान’। नाटकले गणेशमान सिंहको प्रारम्भिक जीवनको संघर्षसँगै तत्कालीन नेपाली समाज, निरंकुश शासनविरुद्धको प्रतिरोध र लोकतन्त्रका लागि गरेको त्यागलाई दर्शकमाझ प्रस्तुत गर्नेछ।
सर्वनाम : नेपाली रंगमञ्चको एउटा विशेष पहिचान
नेपाली रंगमञ्चमा लामो समयदेखि आफ्नै विशिष्ट पहिचान बनाउँदै आएको सर्वनाम थिएटरले सामाजिक, राजनीतिक, समसामयिक र आध्यात्मिक समेत विषयलाई रंगमञ्चमार्फत प्रस्तुत गर्दै आएको छ। ‘वीर गणेशमान’ मार्फत सर्वनामले नेपाली प्रजातान्त्रिक इतिहासको एउटा महत्वपूर्ण अध्यायलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरेको छ।
अशेष मल्ल : रंगमञ्चबाट इतिहास बोलाउने प्रयास
अशेष मल्ल नेपाली रंगमञ्चका स्थापित नाटककार, निर्देशक तथा रंगकर्मी हुन्। उनका लागि रंगमञ्च मनोरञ्जनको माध्यम मात्र होइन, समाज र इतिहाससँग संवाद गर्ने शक्तिशाली माध्यम पनि हो। ‘वीर गणेशमान’मा उनले गणेशमान सिंहको जीवन र संघर्षलाई नाट्यरूपमा पुनर्संयोजन गर्दै इतिहासलाई दर्शकको आँखाअघि जीवित बनाउने प्रयास गरेका छन्।
नाटक भाद्र १४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुनेछ। बिहीबारबाहेक प्रत्येक दिन साँझ ५ः१५ बजे नियमित प्रदर्शन हुनेछ भने शनिबार दिउँसो १ बजे अतिरिक्त शो राखिएको छ।
टिकट बुकिङका लागि : ०१–४०११०२७ / ९८४७३७६९५९

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार













प्रतिक्रिया