वीरगन्ज । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाका आरोपीको अनुसन्धानका क्रममा खिचिएको भिडियो सामाजिक सञ्जालमा फैलाएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत कार्यरत प्रहरी हवल्दार कुमार विक रहेका छन्। सोमबार बिहान अनुसन्धानका क्रममा आरोपीसँग सोधपुछ गरिएका विषय समेटिएको भिडियो सामाजिक सञ्जालमा एकाएक सार्वजनिक भएपछि प्रहरीले त्यसको स्रोतबारे अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा भिडियो प्रहरी हवल्दार विकले आफ्ना एक साथीलाई म्यासेन्जरमार्फत पठाएको र त्यहीँबाट भिडियो सामाजिक सञ्जालमा फैलिएको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख नरेन्द्र कुँवरले जानकारी दिए।

कुँवरका अनुसार गोपनीयताको अधिकार उल्लंघन गरेको आरोपमा विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो।

प्रहरीका अनुसार विकलाई हाल जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ। घटनामा उनको संलग्नता र भिडियो सार्वजनिक हुनुको कारणबारे थप अनुसन्धान भइरहेको छ।

यसअघि बालिकाको बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे बयान दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको कार्यशैलीप्रति प्रश्न उठेको थियो।

अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण तथा आरोपीको बयान सार्वजनिक भएको विषयमा आलोचना बढेपछि प्रहरीले भिडियो कसरी बाहिरियो भन्नेबारे छानबिन थालेको थियो।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com