काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कार र भ्रष्टाचारजस्ता गम्भीर अपराधमा संलग्न व्यक्ति दोषी प्रमाणित भए घटनास्थलमै गोली हान्न सकिने कडा कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुनारले पछिल्ला वर्षहरूमा देशका विभिन्न ठाउँमा भएका बलात्कार तथा हत्याका घटनाको स्मरण गर्दै यस्ता अपराध नियन्त्रणका लागि राज्यले कठोर कदम चाल्नुपर्ने बताएका हुन्।
उनले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अङ्गिरा पासी, खोटाङकी रेस्मिका परियार र म्याग्दीकी मिना परियारको बलात्कारपछि हत्या भएको घटनाको उदाहरण प्रस्तुत गरे। पछिल्लो समय बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले पनि समाजलाई गम्भीर बनाएको उनले बताए।
सांसद सुनारले बलात्कार तथा हत्याका घटनाको लामो सूची प्रस्तुत गर्दै पीडितको नाम लिएर संसद्मा बहस गर्ने मात्र नभई अपराध रोक्न प्रभावकारी कानुनी तथा व्यवहारिक कदम चाल्नुपर्नेमा जोड दिए।
उनका अनुसार महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो। बालिका तथा महिलाले भयमुक्त वातावरणमा बाँच्न सक्ने अवस्था सिर्जना गर्न सरकार गम्भीर हुनुपर्ने उनले बताए।
‘केही समयअघि बझाङमा सम्झना कामी, कञ्चनपुरमा निर्मला पन्त, कैलालीमा माया कामी, रुपन्देहीमा अङ्गिरा पासी, खोटाङमा रेस्मिका परियार र म्याग्दीमा मिना परियारको बलात्कारपछि हत्या भयो,’ उनले भने, ‘केही दिनअघि मात्रै गरिमा चौधरीको बलात्कार र हत्या भयो। बलात्कार र हत्याको फेहरिस्त निकै लामो छ।’
गरिमाको सम्मान र सुरक्षासँगै देशका सबै चेलीले निर्धक्क भएर बाँच्न पाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
सांसद सुनारले बलात्कार र भ्रष्टाचारजस्ता गम्भीर अपराधमा दोषी ठहर भएकामाथि कडा कारबाही गर्नुपर्ने बताउँदै सरकारलाई यस्ता अपराधमा कुनै पनि प्रकारको सम्झौता नगर्न आग्रह गरे।
‘बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन द स्पट ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु,’ उनले भने।
प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार













प्रतिक्रिया