काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले भदौ २३ र २४ गते पुनः सरकारविरुद्ध आन्दोलन हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा फैलाइएको सूचनाप्रति आपत्ति जनाएकी छन्।
आफू र जेनजी फ्रन्टको उक्त आन्दोलनसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै बमले आफ्नो नाम र तस्बिर प्रयोग गरेर भ्रामक सूचना फैलाइएको बताएकी हुन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले तत्काल सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आफूले नदेखेको बताइन्। संवेदनशील विषयलाई अनावश्यक रूपमा सनसनीपूर्ण बनाउने तथा आफ्नो नाम र तस्बिर दुरुपयोग नगर्न उनले आग्रह गरेकी छन्।
‘केही दिनदेखि भदौ २३ र २४ गते फेरि सरकारविरुद्ध आन्दोलन हुने भन्दै केही समूहले सामाजिक सञ्जालमार्फत सूचना फैलाइरहेका छन्। त्यसमा मेरो तस्बिरसमेत प्रयोग गरेर भ्रामक समाचार फैलाइएको देखिएको छ। यो सत्य होइन,’ बमले भनेकी छन्, ‘म लगायत जेनजी फ्रन्टको यससँग कुनै सरोकार छैन।’
भदौ २३ र २४ गते भएका घटनाको पीडा र क्षति अझै ताजा रहेको उल्लेख गर्दै उनले आन्दोलनजस्तो गम्भीर विषयलाई मजाक वा सनसनी फैलाउने माध्यम नबनाउन आग्रह गरिन्।
‘भदौ २३ र २४ गतेका घटना सम्झिँदा मात्रै पनि आङ सिरिङ्ग हुन्छ। ती दिनको पीडा र क्षति अझै ताजै छ,’ उनले भनेकी छन्, ‘त्यसैले आन्दोलनजस्तो गम्भीर विषयलाई मजाक र सनसनी फैलाउने माध्यम बनाइएको देख्दा झन् दुःख लाग्यो।’
बमले आफूहरू शान्तिको पक्षमा रहेको स्पष्ट पार्दै वर्तमान अवस्थामा सरकारविरुद्ध तत्काल आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको धारणा पनि व्यक्त गरेकी छन्।
‘हामी शान्ति चाहन्छौँ र मलाई सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था छ जस्तो पनि लाग्दैन,’ उनले भनेकी छन्।
उनले सामाजिक सञ्जालमा फैलिने यस्ता संवेदनशील सूचनाको सत्यता जाँच नगरी प्रचार नगर्नसमेत आग्रह गरेकी छन्।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया