काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने कारण खुलाउँदै आफ्नो स्वास्थ्यसम्बन्धी प्रतिवेदन संघीय संसद् सचिवालयमा बुझाएका छन्।
आँखामा देखिएको स्वास्थ्य समस्याका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहितको पत्र सचिवालयमा पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।
सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सदनमा कालो चस्मा लगाएर उपस्थित हुन नपाउने निर्णय गरेको थियो। स्वास्थ्यका कारण चस्मा लगाउनैपर्ने अवस्था भए त्यसको पुष्टि हुने स्वास्थ्य प्रतिवेदनसहित पत्र बुझाउनुपर्ने समितिको निर्णय थियो।
सोही निर्णयअनुसार प्रधानमन्त्री शाहले आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकीय प्रतिवेदन सचिवालयमा पेस गरेका हुन्।
सचिवालयमा बुझाइएको प्रतिवेदनअनुसार प्रधानमन्त्री शाहको आँखामा उज्यालो सहन कठिन हुने तथा आँखा सुक्खा हुने समस्या देखिएको छ। उनले गत साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए।
लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेको परीक्षणको प्रतिवेदनमा प्रधानमन्त्रीलाई तेज उज्यालोमा हेर्न असहज हुने भएकाले आवश्यकताअनुसार आइड्रप प्रयोग गर्नुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख गरिएको छ।
यसैबीच, बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको छ। स्वास्थ्य प्रतिवेदन बुझाएसँगै प्रधानमन्त्री शाह उक्त बैठकमा कालो चस्मा लगाएर सहभागी हुने बाटो खुलेको छ।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया