काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कार, ट्रक तथा अटो पार्ट्समा ५० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन्। अमेरिका र क्यानडाबीच व्यापार सम्झौताका लागि भएको वार्ता असफल भएपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन्।

ट्रम्पका अनुसार आगामी जनवरी १ देखि क्यानडाबाट आयात हुने सबै कार, ट्रक र अटो पार्ट्समा नयाँ कर लागू हुनेछ। अमेरिकी उद्योगको संरक्षण तथा क्यानडासँगको व्यापार घाटा घटाउने उद्देश्यले कर नीति अघि बढाइएको उनको दाबी छ।

यसअघि नै अमेरिकाले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर बराबरका विभिन्न वस्तुमा ५० प्रतिशतसम्म कर लागू गरिसकेको छ। अगस्ट २२ देखि लागू भएको उक्त करको दायरामा मदिरा, फर्निचर, खेलकुद सामग्री, सिमेन्टलगायतका वस्तु परेका छन्।

अमेरिकी कदमको क्यानडाले भने कडा विरोध गरेको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको वार्तामा क्यानडामाथि अनुचित सर्त थोपर्न खोजिएको आरोप लगाउँदै आफ्नो देशको आर्थिक हित र सार्वभौमिकतामा सम्झौता नगर्ने बताएका छन्।

अमेरिकी करको जवाफमा क्यानडाले पनि प्रतिशोधात्मक कर लगाउने तयारी गरेको छ। क्यानडाले सेप्टेम्बर ८ देखि अमेरिकी स्टिल, डेरी उत्पादन, कृषि उपकरण, इलेक्ट्रोनिक्सलगायतका वस्तुमा जवाफी कर लगाउने जनाएको छ।

अमेरिका र क्यानडाबीचको व्यापारिक तनावले करिब ९०० अर्ब डलरको वार्षिक व्यापार सम्बन्ध प्रभावित हुन सक्ने देखिएको छ। विशेषगरी अटोमोबाइल क्षेत्रमा दुवै देशका उद्योग र आपूर्ति शृंखला एकअर्कामा निर्भर रहेकाले नयाँ करको प्रत्यक्ष असर उत्पादकदेखि उपभोक्तासम्म पर्न सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com