काठमाडौं। अभिनेत्री निरुता सिंहको फर्स्टलुक सार्वजनिक गर्दै नेपाली चलचित्र ‘सारथी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ११ गते (नोभेम्बर २७) देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो।
सार्वजनिक फर्स्टलुकमा निरुता सिंहलाई उनका अघिल्ला भूमिकाभन्दा फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ। काखमा दुधे बालक बोकेकी निरुताको पैतालाबाट रगत बगिरहेको दृश्य पोस्टरमा देखिन्छ। उनको गम्भीर भावभंगी र रहस्यमय प्रस्तुतिले चलचित्रको कथाबारे दर्शकमाझ कौतूहल बढाउने देखिन्छ।
प्रदर्शन मिति घोषणा भएसँगै निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई तीव्रता दिने तयारी गरेको छ। लामो समयपछि निरुता सिंह र उत्तम प्रधानलाई एउटै चलचित्रमा सँगै देख्न पाइने भएकाले पनि ‘सारथी’प्रति दर्शकको चासो बढेको छ।
किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। चलचित्रको सम्पूर्ण छायांकन म्याग्दीको दुर्गम क्षेत्र गुर्जामा गरिएको हो।
चलचित्रमा निरुता सिंह र उत्तम प्रधानसँगै मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय रहेको छ।
रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर छन्। छायांकन संकल्प भुजेलले गरेका हुन्।
राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको ‘सारथी’मा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ। चलचित्रका गीतमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालले स्वर दिएका छन्। श्याम कार्की आर्ट डाइरेक्टर तथा गोविन्द खड्का ड्रेस कोर्डिनेटरका रूपमा रहेका छन्।
चलचित्रको वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।
मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने ‘सारथी’ले निरुता सिंहको फरक अवतार, रहस्यमय कथा र प्रस्तुतिमार्फत दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने कुरा भने चलचित्र प्रदर्शनपछि नै स्पष्ट हुनेछ।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार











प्रतिक्रिया