काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा रहेका ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली रहेका छन्।
बुधबार बिहान करिब ८ः३० बजे आएको अचानकको बाढीपछि विभिन्न ट्राभल एजेन्सीमार्फत रसुवा पुगेका पर्यटकसँग सम्पर्क हुन नसकेको हो। बोर्डले सम्बन्धित ट्राभल कम्पनी, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा पर्यटक प्रहरीसँग समन्वय गरी उनीहरूको अवस्थाबारे जानकारी संकलन गरिरहेको जनाएको छ।
बोर्डको अद्यावधिक विवरणअनुसार ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना सबैभन्दा बढी सम्पर्कविहीन छन्। उनीहरूमध्ये ७७ जना विदेशी र १५ जना नेपाली छन्।
त्यस्तै, सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ जना सम्पर्कविहीन छन्। यस समूहमा ५९ भारतीय र १२ नेपाली रहेका छन्। लिफ हलिडेका ५५ जनामध्ये ४६ भारतीय र ९ नेपाली छन् भने हिमालयन ग्लेसियरका ५२ जनामध्ये ३७ गैरआवासीय भारतीय र १५ नेपाली रहेका छन्।
यसैगरी कैलाश जर्नीका ३१, फिसटेल टुर्स एन्ड ट्राभल्सका २७, अल्पाइन इको ट्रेकका २०, काठमाडौं हलिडे टुर्स एन्ड ट्राभल्सका १७, रिचा टुर्स एन्ड ट्राभल्सका १२ तथा एक्सप्लोर भ्याकेसनका ७ जना पर्यटक पनि सम्पर्कमा आउन सकेका छैनन्।
बोर्डका अनुसार सम्पर्कविहीन विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिक छन्। कैलाश जर्नी, ट्रेकर्स सोसाइटी र रिचा टुर्समार्फत गएका १११ जना विदेशीको राष्ट्रियता भने अझै खुल्न सकेको छैन।
पर्यटकहरूको वास्तविक अवस्था पत्ता लगाउन खोजी तथा उद्धार टोली परिचालन हुनुका साथै ट्राभल एजेन्सी, गाइड र स्थानीय प्रशासनबाट प्राप्त विवरणसमेत रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा उनीहरूका परिवारलाई आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गर्दै बोर्डले आपत्कालीन समन्वयका लागि टोल–फ्री १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरीको मोबाइल नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।
बोर्डले प्रभावित पर्यटकलाई नआत्तिन, सुरक्षित स्थानमा रहन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार













प्रतिक्रिया