काठमाडौं । भोटेकोसीमा आएको बाढिका कारण रसुवासहित विभिन्न जिल्लामा बाढीमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति ११ः०५ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १५७ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ । त्यस्तै, धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको छ ।

बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उद्धार, खोज तथा राहत कार्यका लागि ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको छ ।

तर, विपद्का क्रममा २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् । रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना, सीमा प्रहरी चौकी रसुवागढीका ९ जनामध्ये १ जना र प्रहरी चौकी स्याफ्रुबेँसीका ८ जनामध्ये ५ जना मात्र सम्पर्कमा आएका छन्।

त्यसैगरी, अस्थायी प्रहरी पोस्ट मैलुङका ८ जनामध्ये ३ जना, प्रहरी चौकी बेत्रावतीका १० जनामध्ये ९ जना र प्रहरी चौकी हाकुका ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

४१ घाइतेको उपचार जारी

बाढी तथा पहिरोमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

घाइतेमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जना उपचाररत छन् । त्यस्तै, नर्भिक अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना र ग्रिन सिटी अस्पतालमा १ जना घाइतेको उपचार भइरहेको छ ।

बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता नागरिक तथा सुरक्षाकर्मीको खोजी, उद्धार र राहतलाई प्राथमिकतामा राखेर सुरक्षा निकाय परिचालन गरिएको छ ।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com