काठमाडौं। भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १६५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ तथा नवलपरासीका विभिन्न स्थानबाट ती शव फेला परेका हुन्।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ५ र रसुवामा २ शव फेला परेका छन्।

बाढीमा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना रहेका छन्।

यस्तै, बाढीपछि ८६० जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४ र सशस्त्र प्रहरी बलका १३ जना कर्मचारी छन्।

यसैगरी नेपाल विद्युत् प्राधिकरण तथा विभिन्न जलविद्युत् आयोजनाका १९६ कर्मचारी र ५७९ स्वदेशी तथा विदेशी पर्यटक सम्पर्कविहीन छन्। पर्यटकतर्फ ४६६ विदेशी र ११३ नेपाली रहेका छन्।

साढे ७ हजार सुरक्षाकर्मी उद्धारमा

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ७ हजार ४१५ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका २ हजार ३५५ र सशस्त्र प्रहरीका १ हजार ७४२ जना सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।

हालसम्म बाढी प्रभावित क्षेत्रबाट २३९ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। नेपाली सेनाका हेलिकोप्टरले २११ र निजी क्षेत्रका हेलिकोप्टरले २८ जनाको उद्धार गरेका छन्।

रसुवाको टिमुरेबाट मात्रै १२३ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ९४ नेपाली र २९ विदेशी नागरिक छन्।

३५ मोटरेबल पुल र ४० किलोमिटर सडकमा क्षति

बाढीले भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार ३५ मोटरेबल पुल, ४५ झोलुंगे पुल र करिब ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएका छन्। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार भदौ १० गते बिहान करिब ८ः४० बजे नेपाल–चीन सीमास्थित रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा हिम–चट्टानसहितको पहिरो खसेपछि तिब्बततर्फको ल्हेन्दे खोलामा गेग्य्रानसहित ठूलो बाढी आएको थियो।

तिब्बतबाट भोटेकोसी हुँदै आएको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी पार गरेर त्रिशूली नदीमा मिसिएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा व्यापक क्षति भएको हो।

उपचार र राहतलाई तीव्रता

घाइतेको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल तथा त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहितको टोली परिचालन गरिएको छ।

बाढीपीडितका लागि नेपाली सेनाका नजिकका ब्यारेकमा अस्थायी बसोबास, खाना, सुरक्षित खानेपानी र औषधिको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

अबको प्राथमिकतामा सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार, प्रभावितको सुरक्षा र राहत वितरण, क्षतिको विस्तृत मूल्यांकन तथा सडक, पुल, जलविद्युत्, सञ्चार र खानेपानीजस्ता अत्यावश्यक पूर्वाधारको पुनःस्थापना रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com