काठमाडौं । पिकलबल विश्वकपको तेस्रो संस्करणमा सहभागिता जनाउन १८ सदस्यीय नेपाली राष्ट्रिय पिकलबल टोली बिहीबार भियतनाम प्रस्थान गरेको छ। टोलीले विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पिकलबल मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ।
नेपाली टोलीलाई पिकलबल एसोसियसन नेपालका उपाध्यक्ष टिका भण्डारी लगायत पदाधिकारी तथा शुभेच्छुकहरूले विदाई गरेका थिए। विदाईका क्रममा टोलीलाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम र झण्डा उचो राख्न खेलाडीहरूलाई हौसला प्रदान गरिएको थियो।
भियतनाममा आयोजना हुने यस प्रतियोगिता पिकलबल विश्वकपको तेस्रो संस्करण हो। विश्वका विभिन्न देशका उत्कृष्ट खेलाडी तथा टोलीहरूको सहभागिता रहने प्रतियोगितामा नेपालले पनि आफ्नो बलियो उपस्थिति जनाउने तयारी गरेको छ।
विश्वकपका लागि भियतनाम प्रस्थान गर्ने नेपाली टोलीमा सौरभ भण्डारी, ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा.दिक्षा राणा, सञ्जील कन्साकार, किरण खनाल, हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान लगायत १८ सदस्य रहेका छन्।
पिकलबल एसोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले देश नै शोकमा रहेको कठिन परिस्थितिका बीच नेपाली टोली भियतनामतर्फ प्रस्थान गरेको बताए। भोटेकोसीमा आएको बाढीका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेको र उद्धार तथा राहतमा खटिनुपर्ने अवस्थामा टोलीले मन भारी बनाएर अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि यात्रा सुरु गर्नुपरेको उनको भनाइ छ।
“भोटेकोसी बाढीका कारण देश नै शोकमा रहेको अवस्थामा हामी मन भारी बनाएर भियतनामतर्फ प्रस्थान गरेका छौं। यस्तो परिस्थितिमा हाम्रो पहिलो दायित्व देश र नागरिकप्रति नै हो। तर, अब हामी त्यहाँ पुगेर बिचलित नभई नेपालको झण्डा बोकेर खेल्नेछौं र विश्वमञ्चमा नेपालको शिर उचो बनाउने प्रयास गर्नेछौं,’’ अध्यक्ष भण्डारीले भने।
उनले नेपाली टोलीले विपद्को पीडालाई आफ्नो मनमा राख्दै देशको प्रतिनिधित्व गर्ने जिम्मेवारीलाई थप गम्भीरताका साथ लिएको बताए। “हाम्रो मन नेपालमै हुनेछ, हाम्रो खेल नेपालको लागि हुनेछ,” उनले भने।
पिकलबल एसोसियसन नेपालले पछिल्ला वर्षहरूमा नेपालमा पिकलबलको विकास, विस्तार र अन्तर्राष्ट्रिय सहभागितालाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ। विश्वकपमा नेपालको सहभागितालाई पनि नेपालमा पिकलबलको सम्भावना र विकासलाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया