काठमाडौँ । देश गम्भीर पीडा र शोकमा रहेका बेला नेपाली फाइटर रवीन्द्र ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उँचो बनाएका छन्। चीनको साङ्घाईमा आयोजित ‘रोड टु युएफसी’को सेमिफाइनलमा कठिन जित निकाल्दै ढाँट फाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार साङ्घाईस्थित अक्टागनमा भएको रोमाञ्चक सेमिफाइनल भिडन्तमा ढाँटले न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई स्प्लिट डिसिजनका आधारमा पराजित गरे।
तीन राउन्डसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा निर्णायकहरूको मत विभाजित भएको थियो। पहिलो निर्णायकले ढाँटको पक्षमा २९–२८ अंक दिएका थिए भने दोस्रो निर्णायकले समान २९–२८ अंकका साथ मर्डकलाई विजयी ठहराए। तेस्रो निर्णायकले भने २९–२८ अंकका साथ ढाँटको पक्षमा फैसला सुनाएपछि उनी विजयी घोषित भए।
यो जितसँगै ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा स्थान पक्का गरेका छन्। अब उनले उपाधिका लागि जापानका र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन्।
महत्त्वपूर्ण जितपछि प्रतिक्रिया दिँदै ढाँटले देशको पछिल्लो अवस्थालाई सम्झिएका छन्। देश शोक र पीडामा रहेका बेला प्राप्त यो जितलाई व्यक्तिगत खुसीको विषयका रूपमा मात्र लिन नसकिने उनको भनाइ छ। ‘यो खुसी मनाउने अवस्था होइन,’ ढाँटले जितपछि भने।
देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै फाइनल पुगेका ढाँटको यो उपलब्धिलाई नेपाली खेलकुदका लागि महत्त्वपूर्ण सफलताका रूपमा हेरिएको छ। अब उनको लक्ष्य ‘रोड टु युएफसी’को उपाधि जित्दै नेपाललाई थप गौरवान्वित बनाउनु हुनेछ।
प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया