काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव गोरखामा भेटिएको छ। भदौ १० गते आएको बाढीमा बेपत्ता भएका विष्टको शव त्रिशूली नदी किनारमा फेला परेको हो।

३४ वर्षीय विष्ट पाल्पाको तानसेन नगरपालिका–१० का स्थानीय हुन्। उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा पोस्टमार्टम गरेपछि परिवारलाई बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बाढीपछि गोरखामा फेला परेका ५८ शवमध्ये हालसम्म तीन जनाको मात्रै सनाखत भएको छ। सनाखत हुनेमा विष्टसहित इलामको सन्दकपुर गाउँपालिका–३ घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय दीपक भन्ने दिवासनन्द सुवेदी र गोरखाको पालुङटार नगरपालिका–६ का यमबहादुर थापा छन्।

उनीहरूको शव पनि पोखरामा पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

बाढीमा बगेर आएका शवको संख्या बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ। तत्काल अन्य विकल्प उपलब्ध नभएपछि २९ वटा शवलाई गोरखाको शहीद लखन गाउँपालिका–स्थित बुंकोट घाट क्षेत्रमा गाडेर व्यवस्थापन गरिएको डीएसपी श्रेष्ठले बताए।

पहिचान भएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार शवलाई सुरक्षित रूपमा माटोमुनि गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com